हेटौँडा, २८ भदौ । २०४८ सालको संसद सम्झौँ, जहाँ अत्यधिक चर्चा हुने दुई पात्र थिए दमननाथ ढुंगाना र विरोध खतिवडा । सार्वजनिक सरोकारका विषयमा ठट्यौली पाराले चोटिलो प्रहार गर्ने विरोध खतिवडाको शैली संसद छिरेको ३० वर्षपछि मन्त्री हुँदा पनि घटेको छैन । आफैँ स्वास्थ्यमन्त्री भएर आफ्नै सहकर्मी र पार्टीका साथी त्यही मन्त्रालयमा मन्त्री र राज्यमन्त्री रहँदा पनि खतिवडाले केहीदिन अघि संसदमा डेंगु नियन्त्रण पेचिलो बनेकाले ‘लामखुट्टेश्वर महादेव मन्दिर स्थापना गरौँ’ भनेर व्यंग्य गरेका थिए ।
यिनै खतिवडा २०४८ देखि लगातार मकवानपुरबाट टिकट पाउँदा अविजित छन् । २०४२ सालमै जनपक्षीय उम्मेदवार हुँदा पराजित खतिवडा २०४८ देखि लगातार शेरबहादुर देउवासँग संसदमा पनि छन् । यसपटक पार्टी विभाजन भएको छ । नेकपा एसका स्थायी कमिटी सदस्य खतिवडा साविककै मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट उठ्दैछन् । गठबन्धनले खतिवडालाई टिकट दिने भएको छ । खतिवडासँग स्पर्धा गर्दै आएकी नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले आफू उठ्न चाहेको भने पनि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मकवानपुर १ मा डिना र २ मा खतिवडा भनेर मकवानपुर पार्टी पंक्तिलाई विश्वस्त पारेपछि खतिवडाको टिकट पक्कापक्की नै छ ।
रमाइलो त के छ भने अघिल्लो निर्वाचनमा एमालेका तर्फबाट १४ हजार बढी मत ल्याएर खतिवडा निर्वाचित हुँदा दोस्रो डिना १ नम्बर क्षेत्रमा जाने र दुवै गठबन्धनका उम्मेदवार हुने भनेपछि एमालेले पनि लगभग मैदान खाली गरेको अवस्था छ । मकवानपुर २ मा विद्यार्थी नेता हुँदै एमाले बागमती प्रदेश उपसचिव रहेका महेश बर्तौलालाई एमालेले अघि सारेको छ । खतिवडाले बीचका दुई कार्यकाल टिकट नपाउँदा नेता बनेका र हाल पार्टी केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाले पनि मकवानपुर २ मा उम्मेदवार हुन रुचाएनन् । स्थानीय तह निर्वाचनमा मेयरको रहर गरेर सर्वाधिक आलोचना खेपेका पूर्व जिविस सभापतिसमेत रहेका रानाले पनि यसपटक मकवानपुर १ बाट आफ्नो नाम सिफारिस गराए । जहाँ लगातार कमल थापालाई पनि धूलो चटाउने एमाले नेता एवम् हालका अर्थ समिति सभापति कृष्ण दाहाल छदैँथिए । राना र दाहालको नाम सिफारिस भए पनि मकवानपुर १ मा एमालेले यसपटक राजेन्द्र लिङ्देन र कमल थापामध्ये एकलाई रोज्नु पर्ने अर्को बाध्यता छ ।
झापामा चुनाव जित्न लिङ्देनको भरथेग छ । तर एमाले अध्यक्ष केपी ओलीको मनमुटु जोडिएको छ कमल थापासँगै । कुनैबेला एमाले सरकारको राम्रो कामबारे बोल्दा तिमीले झूर बोल्यौ भनेर आफ्ना केन्द्रीय सदस्य मधु अधिकारीलाई गाली गर्ने कमल थापाले हिजोमात्रै बोलेका छन्, ‘एमाले हराउन षड्यन्त्र भइरहेको छ, हुँदाहुँदा राष्ट्रपतिविरुद्ध प्रदर्शन गलत हो ।’ अब कमल थापा किन यसो भनिरहेका छन् भने यसपटक मकवानपुरमा रामेश्वर राना र कृष्ण दाहाल अनि ओली सरकारमा अग्नि खरेल मन्त्री छाडेर महान्यायाधिवक्ता खान तयार हुँदाहुँदै कानुनी सल्लाहकार हुन पुगेका बाबुराम दाहालका भाइ मदन दाहालको नाम सिफारिस भएको ठाउँबाट सूर्य चिन्हमा उम्मेदवार हुन चाहन्छन् । जसरी २०५४ को निर्वाचनमा विरोध खतिवडाका ठाउँमा रुपचन्द्र विष्ट उम्मेदवार हुन चाहन्थे र केपी ओलीकहाँ टिकट माग्न जाँदा ओलीले ‘हिजोमात्र विरोधलाई फिक्स भयो’ भनेपछि निरास भएर राजनीतिक जीवनमा निस्क्रिय हुन चाहे, अहिले कमल थापा उनै कृष्ण दाहालको ठाउँमा सूर्य चिन्हमै उम्मेदवार हुन लालयित छन् र एमाले फकाउन ‘मुसादौड’ गरिरहेका छन् ।
तर कमल थापाका लागि टिकट सहज छैैन । ओलीको मनमुटु जोडिए पनि झापामा लिङ्देनको सहाराविना जित्न नसक्ने भएकाले ओलीले जति बल गरे पनि मकवानपुरमा एउटा वडासदस्य पनि ‘काउन्ट’ हुने गरी नदेखिएको ठाउँमा लिङ्देन कमल थापा अरु ‘खरानी’ भएको हेर्न चाहन्छन् र हेटौँडामा मेयरमा लोकप्रिय मत ल्याएका दीपकबहादुर सिंहलाई उम्मेदवार बनाउन चाहन्छन् । मेयरको टिकट नपाएपछि पार्टी छाडेका मधु अधिकारी विरोध खतिवडाको सारथी भइरहँदा त्यतिखेर डा. धवल शमशेरको जोडमा दीपक सिंह मेयरका उम्मेदवार भएका थिए, यसपटक राजेन्द्र लिङ्देन नै एमाले गठबन्धनमा कमल थापा होइन दीपक सिंह उठाउने तयारीमा छन् । कमल थापालाई आफ्नै सहकर्मीहरु तगारो हुने पक्का छ ।
यसो भनिरहँदा भएभरका नेताहरु १ नम्बरतिर जम्मा भएका छन् । मकवानपुरका नेताहरु महालक्ष्मी डिना उपाध्याय, कमल थापा, रामेश्वर राना, कृष्ण दाहाल र दीपकबहादुर सिंह १ नम्बर निर्वाचन क्षेत्रमा होमिने भएपछि मकवानपुर २ मा भने विरोध खतिवडालाई सहज बनेको छ । एमालेले अघिल्लो निर्वाचनमा खतिवडाकै कार्यक्रममा हिँडेका महेश बर्तौला, राप्रपाले राजाराम बर्तौलालाई अघि सार्दा रवि लामिछानेको पार्टीले भने नेपाली कांग्रेसबाट मनहरीको गाउँपालिका अध्यक्षमा उम्मेदवार हुन नपाएर असन्तुष्ट र पछि बागमती प्रदेशमा राज्यमन्त्री बनाइने आस्वासन पाएर हुन नपाएका कांग्रेस नेता भरत पराजुलीलाई अघि सारेको छ । राजमार्गतिर हल्लाखल्ला भए पनि ग्रामीण दूरदराजमा ‘लामिछानेको घण्टी’ नगन्य छ । त्यसमाथि मकवानपुरमा माओवादी पोलिटब्युरो सदस्य कुमारी मोक्तानसमेत सबैको ‘सर्वमान्य’ जस्तै नेता विरोध खतिवडाका पक्षमा माओवादी इमानदार हुने हुँदा गठबन्धनको मत यसै बढी छ । त्यसमाथि विरोध खतिवडाले स्वयम् ८ देखि १० हजार एमालेको भोट आफूलाई आउने बताउने गरेका छन् । एमालेदेखि सबैले कमजोर उम्मेदवार उठाएपछि खतिवडालाई एक हिसाबले ‘हाइसन्चो’ भएको छ ।
खतिवडालाई जस्तै नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा बागमती प्रदेशमा भावी मुख्यमन्त्रीका अनुहार ईन्द्रबहादुर बानियाँलाई यसपटक झन सहज हुने भएको छ । मकवानपुर २ को प्रदेश ख मा बानियाँले मनहरी, राक्सिराङ, कैलाश गाउँपालिकामा आफ्ना अध्यक्षका उम्मेदवार जिताएका छन् भने उपाध्यक्षहरु माओवादीका छन् । समाजवादीको पनि राम्रो मत भएको र विरोध खतिवडाको क्षेत्र भएकाले खतिवडासँगै बानियाँ पनि प्रदेशमा बलिया उम्मेदवार भएका छन् । बानियाँविरुद्ध को उठ्ने भन्नेमा एमालेमा पनि एक मत छैन । मनहरीमै बानियाँबाटै अन्यायमा परेका शंकर न्यौपानेलाई एमालेले उठाउने चर्चा पनि छ । यसो हुँदा टिकटका लागि आएको भनेर एमालेमै विद्रोह हुने सम्भावना छ भने एमालेले तयार पारेका लालबहादुर थापा पाँच वर्षअघि आफ्नै सहकर्मी राजकुमार मल्लसँग पालिका अध्यक्षमा हारेपछि यसपटक उठ्ने हिम्मत पनि गरेनन् । प्रदेश सभामा सिफारिस थापा पश्चिम मकवानपुरमा कमजोर नेतृत्व क्षमता भएका नेतामा पर्छन् । कयाँै एमाले नेता कार्यकर्ता थापाकै कारण पार्टी छाडेर कांग्रेस र अन्य पार्टीमा गएपछि एमाले मकवानपुरलाई कतै न कतै एउटा भए पनि ‘मगर’ देखाउन पर्ने बाध्यता हो । रामेश्वर रानाजस्ता शालीन नेतालाई नपत्याएका जनताले ‘लालबहादुर मगर’लाई के साथ देलान् ? मकवानपुर २ मा संघमा विरोध खतिवडा र प्रदेशमा ईन्द्र बानियाँलाई एमालेसहितले झण्डैझण्डै ‘वाकओभर’ दिएको देखिन्छ ।
यता, १ नम्बरमा भएभरका नेताहरु होमिए पनि स्पर्धा महालक्ष्मी डिना उपाध्यायसँग कमल थापा र दीपक सिंहमध्ये एकको हुनेमा एमालेजन ढुक्क छन् । आफ्नै चिन्हमा कुनै न कुनै मण्डलेलाई बोक्नै पर्ने बुझिसकेका छन् । बाँकी सबैै नेताहरु यसपटकपछि राजनीतिक जीवनमा फेरि उठ्ने सम्भावना कमै छ । उसो त यो निर्वाचनले लामो समयदेखि कायम रहेको मकवानपुरको एमाले वामपन्थराज कतै हेटौँडा मेयर हारेसँगै यसपटक संसदमा पनि समापनतिर पो गयो कि भनेर कुरा गर्नेहरु कांग्रेस चोकतिर टन्नै छन् ।


