समीप त्रिपाठी
१. संविधान सभायताका निर्वाचन अत्यधिक महँगो र भड्किलो देखिन थाल्यो । निर्वाचन जित्नेले हत्पत्ति हार्न नसक्ने र हारेका उम्मेदवारले फेरि उठ्ने हिम्मत गर्न नसक्ने बरु राजनीतिबाटै पलायन हुने अवस्था बन्दै गएको छ । कयौँ इमानदार र अशल नेताहरु राजनीतिबाट विश्राम लिएर ऋणमुक्त हुन व्यापार व्यवसायमा होमिँदा राजनीति चैँ बरु ठेक्कापट्टा, व्यापार व्यवसाय गरेका र झट्ट भन्दा संगठित अपराधमा नाम कमाएका अनुहारहरुको कब्जामा पर्दै गएको देखिन्छ । यसले लोकतन्त्रमाथि नै खतराको घण्टी बजाइरहेको छ । लोकतन्त्र यसका लागि ल्याइएको थिएन । लोकतन्त्रको स्वभाव र शोभा पनि यस्तो हुने कुरै भएन । लोकतन्त्र हूलको शासनले हत्तुहैरान भएर जनता भनिरहेका छन्, यो भन्दा पुरानै व्यवस्था पो शान्तिपूर्ण थियो कि ?

२. दुईतिहाइको सरकार निर्माणपछि देशमा युवाशक्तिले अवसरका लागि निकै मेहनत गरे । देशमै अमनचयन र शान्ति हुन्छ भने लगानी किन नगर्ने भनेर वैदेशिक रोजगारीबाट आएकाहरुले पनि देशमै केही गर्न चाहे । फलतः पाँच वर्षअघि सुपरमार्केटहरुमा १ हजार २ सय रुपैयाँ भन्दा बढी मूल्यमा किन्नु पर्ने किवी, ड्रगन फ्र्ुट, एभोकाडो जस्ता महँगो फलफूलहरु स्थानीय बजारमा २ सय रुपैयाँ प्रतिकिलोमा किनबेच हुने गरी उत्पादन पनि भयो । कोरोनाका बेला घर फर्किएकाहरुले कृषि उत्पादनलाई रोजे । फलतः उत्पादन बढ्यो पनि । तर उत्पादनसँगै बजार विस्तारमा स्थानीय, प्रदेश र केन्द्र सरकार पूर्णरुपमा संवेदनशील बन्न सकेन । हाम्रो कृषि बजारमासमेत दलालीकरण मूलशक्ति बनेर बसेको छ र उत्पादनको लागत पनि नउठ्ने मूल्यमा बिक्रीका लागि बाध्य बनाउने दलाल बजारका कारण उत्पादन सडकमा फालेर राज्यलाई खबरदारी गरिँदासमेत अर्थहीन भएपछि कृषिमा भएको लगानी पनि उठ्न सकेन । अर्कातिर कार्टेलिंग र सिण्डिकेटले गर्दा महंगी यस्तो बढेको छ कि, तिनै उपभोक्ता मारमा परिरहेका छन् । अव्यवस्थित बजार र दलालको कब्जाले नेपाली उपभोक्ताको उत्पादन र उपभोग्य बजारमा भइरहेको बदमासी रोक्न सकेनौँ भने हाम्रा उत्पादन बारीमै सड्ने अवस्था छ र महँगीले निरन्तर उपभोक्तालाई मार खेप्न पर्ने अवस्था अरु विकराल बनिरहेको छ । आफ्ना उत्पादनमा आगो लगाउनु पर्ने बाध्यतामा हामीले खबरदारी गर्नु नै थियो । राज्यले स्वदेशमै गरिखाउ भनेर बढाएको उत्साह केही राहत, अनुदानमा सीमित भयो । आयातीत बजारमा उपभोक्ता किन्न बाध्य भए, किसानका उत्पादन बजारमा छिर्नै सकेन ।

३. झट्ट हेर्दा त विप्रेषणले मुलुक धानिरहेको देखिन्छ । तर दक्ष होस् या अदक्ष वा अर्धदक्ष, १८ वर्ष पुगेपछि विदेशिनै पर्ने बाध्यात्मक अवस्था देखिन्छ । रोजगारीका नाममा वा अध्ययनका नाममा विदेश पठाउने सन्तान उत्पादन केन्द्र बनिरहेको छ देश । दशौँ वर्ष विदेशमा बसेर आएकाहरुलाई राज्यले अवसर, बजार, सहयोगको वातावरण बनिरहेको छैन । अर्कातिर गाउँबस्ती छाडेर मानवबस्ती सहरकेन्द्रित हुँदा ग्रामीण भेगका समाज सकिँदै छन् । उत्पादन क्षेत्र उजाड हुँदैछन् र सहरमा महँगो र कस्मेटिक उपभोगले हामी सम्पदा, संस्कृति मात्र मासिरहेका छैनौँ, अपूरो पारिवारिक वातावरणमा बाँचिरहेका छौँ । पारिवारिक विचलनका विषय मनोरञ्जनको समाचार मात्र बनिरहेको छ । वैदेशिक रोजगारीमा जानेहरुको तीनपुस्तामा देखिएको समस्या विकराल बन्दै छ । श्रमलाई सम्मान गर्ने, श्रमको मूल्य पाउने अवस्था यो प्रजातान्त्रिक सरकारहरुले गर्न सकेन । २०५१ सालदेखि मन्त्रालय नै बनाएर नागरिकलाई वैदेशिक रोजगारीमा पठाउँदा आर्थिक अवस्था परिमाणात्मक रुपमा सुध्रिए पनि गुणात्मक रुपमा हेर्दा भड्किलो खर्च, सुखसयल, मोजमस्तीमा सीमित छ । श्रमिक उत्पादन र रोजगारीको बजार निर्माण हुन सकेन । विप्रेषण भित्र्याउने नाममा श्रमिकहरुले खेपेको दुःख न्युनिकरणमा पनि समस्या नै छ । वैदेशिक रोजगारीमा हासिल गरेका सीप, श्रम र पूँजीलाई स्वदेशमा व्यवस्थापन चुनौती बनेको छ ।

४. एक वर्षमै २६ खर्ब भन्दा बढी रकम हामीले विदेशमा उच्च शिक्षाका नाममा छोराछोरी पठाएर सिध्याएका छौँ । विप्रेषण र उत्पादनले हाम्रो अर्थतन्त्रलाई थेगेको छ । आजसम्म आर्थिक संकट भोगिरहँदा श्रीलंकाजस्तो इन्धन किन्न डलरै नभएको अवस्था त होइन । तर पछिल्लो ३ वर्षमा हामी जुन आर्थिक संकट भोगिरहेका छौँ, बैंकहरुले लगानी गर्न सकिरहेका छैनन् । र, हामी चैँ ऋणपान गरेर छोराछोरीलाई उच्चशिक्षाका नाममा विदेशमा पठाइरहेका छौँ । उनीहरुलाई स्वदेशमै पढाउन गुणस्तरीय र प्राविधिक शिक्षालय स्थापनामा राज्यले जोड दिनै सकेन । शिक्षा र स्वास्थ्य सेवा आधारभूत हुँदाहुँदै जनता यसबाट विमुख छन् । गुणस्तरीय शिक्षा र स्वास्थ्यमा बढ्दो व्यापारीकरणले निमुखाहरु आहत छन् । उच्च शिक्षाका नाममा विदेशिने क्रम रोक्न सकिरहेका छैनौँ बरु १८ वर्ष पुग्नेबित्तिकै कुन देश पठाउने भन्ने पिरलोले हरेक अभिभावक मानसिक तनावग्रस्त छन् गाउँमा समेत ।
मूलतः यिनै चार विषयलाई हामीले समयमै निराकरणको अभ्यास गरेनौँ भने हाम्रो आउँदा वर्षहरु अरु संकटपूर्ण हुने देखिन्छ । लोकतन्त्र, गणतन्त्र र जनताको शासन भनिरहँदा पनि मानव समुदाय अझ निमुखाहरुको दैनिकी कष्टकर बन्दै गइरहेको छ । बजारीकरण नराम्रो होइन, यसमा देखिएको दलालीकरणले मुठिभरकाहरुलाई देश स्वर्ग बनिरहेको छ । इमानदार र आजीवन जुन क्षेत्रमा हाडछाला घोट्नेहरु त्यही क्षेत्रको नेतृत्वमा पुग्नै नसक्ने असमानता र दलालीको खाडल निर्माण भइरहेको परिस्थितिलाई नजरअन्दाज गरेर हामी बस्न सक्दैन थियौँ ।

यही कुरा जागरणका नाममा देशभर सञ्चारित गर्नु पर्छ भनेर युवा संघ नेपालले भदौ १५ गतेबाट २३ गतेसम्म महाकाली मेची जागरण अभियान सञ्चालन गरेका थियौँ । भदौ १५ गते काठमाडौँमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बिदाइ गर्नु भएको टोली भदौ १७ गते महाकाली नदीमा नुहाएर जागरण यात्रा आरम्भ गर्दै भदौ २३ गते झापाको मेची नदीमा नुहाएर काठमाडौं फर्कियौँ र भदौ २४ गते काभ्रेको बनेपामा कार्यक्रम गर्दै समापन पनि भयो ।
अभियानक्रममा लाखौँ जनसमुदायसँग हामी जोडियौँ । हामीेले तयार पारेको जागरण पर्चा वितरण गरेका थियौँ । विभिन्न जिल्लाका सीमामा हामीलाई पार्टीपंक्तिका नेताहरुका अलावा कार्यकर्ता मात्र होइन जनताले पनि उस्तै स्वागत गर्नु भएको थियो । युवा संघ नेपाल र नेपालको झण्डा बोकेर हामीले यात्रा आरम्भ गरिरहँदा कति सहभागिता होला ? निर्वाचनको सम्मुख अनि संघारमै आइसकेको चाडपर्व र भौगोलिक विकटताले कतै नागरिकको उपस्थिति कम पो हुन्छ कि भन्ने संशय नभएको होइन । तर हामीले त्यस्तो सामना गर्न परेन । राजमार्गको सडकमै सीमित सही, हाम्रो जागरण यात्रा सुदूरपश्चिमबाट जति पूर्वतिर बढ्यो, सहभागिता उस्तै वृद्धि हुँदै गयो । हाम्रो अभियानलाई सार्थक बनाउन स्थानीय पार्टी कमिटी, स्थानीय सरकार, प्रदेश सरकार, पार्टीका शीर्ष नेताहरुको सहभागिता उच्च रह्यो ।

जहाँ नेकपा (एकीकृत समाजवादी) का स्थानीय र प्रदेश सरकारहरु थिए, हाम्रा जनप्रतिनिधिसँगै त्यहाँका स्थानीयको उत्साहपूर्ण सहभागिता यस अर्थमा थियो कि तराई मधेसमा त्यहाँका भूमिपूत्रहरु भन्थे, सिंगो प्रणाली, राज्यसञ्चालनसँगै सुशासनयुक्त कम्युनिष्ट सरकारका लागि माधवकुमार नेपाल नेतृत्व देशका लागि आवश्यक छ । हामी यो पार्टीको कार्यकर्ता भनेर गौरव गर्दछौँ । यति मात्र होइन, हिजो नेकपा एमाले बनाउने पनि माधवकुमार नेपाल नै भएको र अर्बाैँ रुपैयाँको पार्टीसम्पत्ति छाडेर आज माधवकुमार नेपाल अर्को जनतको पार्टी बनाउन लागिरहँदा के एमालेजनहरु अब त्यो सम्पत्ति र पार्टीका विरासत कायम राख्न सक्लान् भनेर खबरदारी गरिररहेको सन्देश पनि दिन्थे ।
हुँदाखाँदाको दुईतिहाइको सरकार र पार्टी विखण्डन गरेर भ्रष्टाचारीहरुलाई सिरानी हालेर सुत्दाको परिणामले देशमा बहुमत हुँदाहुँदै पनि कम्युनिष्ट पार्टी कमजोर भयो । यसलाई फेरि एकपटक एकीकृत गर्दै समाजवादी अभियानको नेतृत्व गर्न पनि माधवकुमार नेपाल र झलनाथ खनालको नेतृत्व आवश्यक छ भन्नेमा जागरण अभियानमा भेटिएका जनसागर सहमत थिए । राजमार्गको यात्रा सोचेजस्तो सहज थिएन । तोकिएको ठाउँमा कार्यक्रममा पुग्न हामीलाई कतै स्थानीयसँगका अन्तरक्रियाले केही विलम्ब पारिरहेको थियो त कतै वर्षाले रोकिरहेको थियो । उता, राजमार्गको अर्को भूगोलमा चर्को घाममा जनसागर हामीलाई तीन घण्टा भन्दा बढी कुरिरहेका खबर आइसक्थ्यो । तराई मधेसको त्यो चर्को घाममा जनसागर फूलमाला, स्थानीय रहनसहन, संस्कृतिका झाँकीसहित कुरिरहेका थिए । ससाना कोणसभामा नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नेको लर्को हुन्थ्यो । एकहिसाबले यो जागरण आन्दोलन सफलिभूत भएको हाम्रो ठम्याइ छ ।

स्थानीय मिडियाहरुले हाम्रो अभियानलाई उस्तैसँग कभरेज गरेका थिए । पार्टी उपमहासचिव एवम् मोर्चा संगठन इञ्चार्ज डा. विजयकुमार पौडेल, युवा संघ नेपाल इञ्चार्ज एवम् पार्टी पोटिब्युरो सदस्य दिलकुमारी पन्त, युवा संघ नेपालका कमाण्डर, अध्यक्ष नरेशकुमार शाहीसहित पार्टीका उपाध्यक्ष नितेश पौडेलसहितका सबै पदाधिकारीहरुले जागरण अभियानलाई नेकपा (एकीकृत समाजवादी)लाई आगामी मंसिर ४ गते सुशासनका पक्षमा कलम चिन्हमा मतदानको माहौल बनाउन अपिल गर्नु भएको थियो । १२ खर्ब मात्रै राज्यले व्यवस्थापन घाटा सहने हो भने देशभरका किसानको उत्पादनले बजार पाउने र कोही पनि विदेश जाने वातावरण नबन्ने डा. पौडेलको धारणा थियो । युवा संघ नेतृत्वले हरेक जिल्लामा पुग्दा त्यहाँका युवा, अखिल र समाजवादी प्रेस संगठनका स्थानीय नेतृत्वलाई पनि सम्बोधनको व्यवस्था गरेको थियो । श्रद्धेय अध्यक्ष नरेश शाहीले सिंगो कमिटीलाई आश्वस्त पार्दै स्थानीय सभाहरुमा वक्ताहरु व्यवस्थापन गर्नु भएको थियो ।

यो अभियानबाट फर्कँदा शारीरिक रुपमा त हामी गलेका थियौँ, १० दिनको यात्रा, अनेक मौसममा समायोजन कठिन थियो । तर राजनीतिक रुपमा हामी ऊर्जावान भएर फर्किएका छौँ । नेकपा एस छाड्नेहरुको हूल छ, कहाँ छन् र जनता त्यो पार्टीमा भनेर सामाजिक सञ्जालमा उडाउनेहरुले स्थानीय तहमा देखेको भिड आफैँमा एउटा सफल आन्दोलनको सन्देश थियो । गुगलमा साइबर हमला गरेर बसिरहेकाहरुलाई भूगोलमा पुगेर आफ्नो शक्ति देखाउने र मूल्यांकन गर्ने यो एउटा स्वर्णिम अवसर थियो । आवरणमा हामी युवा थियौँ, समग्रमा यो नेकपा (एकीकृत समाजवादी)कै एउटा पाठ्क्रम थियो । जहाँ झापाको बिर्तामोडमा हामीलाई चर्को घाम र वर्षामा घन्टौँ कुरेर बसेका तिनै सन्थाल र लिम्वूहरु कार्यक्रम विलम्ब हुने चाल पाएर आफ्नो संस्कृति प्रदर्शन गर्दै उपस्थित नागरिकलाई धैर्यवान बनाइरहेका थिए । पार्टीका सम्मानित नेता झलनाथ खनालले शालीनसँग सम्बोधन गर्नु भयो । युवापुस्तालाई अरु उत्साहित पार्नु भयो । नेकपा (एकीकृत समाजवादी)को आन्दोलन र यात्राबारे जनतालाई जागृत गराउनु भयो । त्यो एक शालीन सभा थियो न कि कुनै जोक भन्ने र मजा लिँदै ताली बजाउनेहरुको जमघट ।
(त्रिपाठी, युवा संघ नेपालका स्थायी कमिटी सदस्य हुन्)

