यी हुन् एकीकृत समाजवादीले दाबी गर्ने सुदूरपश्चिमका ४ सिट

-

भदौ १२‚ कैलाली । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा सत्तारुढ घटक एकीकृत समाजवादीले ४ सिट दाबी प्रस्तुत गर्ने भएको छ । सुदूरपश्चिममा १६ वटा संघीय निर्वाचन क्षेत्र छन् । जसमध्ये एकीकृत समाजवादीले ४ सीटमा दाबी गर्ने स्रोतले रातोसुर्यलाई बताएको छ ।

दलहरूबीच सिट बाँडफाँड गर्दा जुन निर्वाचन क्षेत्रमा जसको प्रभाव बढि छ‚ त्यहाँ उसैलाई छोड्ने सहमति भएको स्रोतको दाबी छ । आफ्नो जनआधार नै नभएको क्षेत्रमा दावी गर्दा अन्य दलका कार्यकर्ताबीच असन्तुष्टि चुलिएर सिट गुमाउनु पर्ने अवस्था आउन सक्ने भएकाले स्थानीय चुनावको मतलाई समेत आधार मानेर सिट बाँडफाँड गर्ने अनौपचारिक सहमति बनेको स्रोतको दाबी छ । नेकपा एकीकृत समाजवादीले बझाङ, अछाम क्षेत्र नम्बर १‚ कैलाली क्षेत्र नम्बर ४ र डोटी दावी गर्ने सहमति भएको छ ।

यस्ता छन् दाबी गर्ने आधार र कारण

सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीको सबैभन्दा बलियो उपस्थिति भएको जिल्ला बझाङ भएकाले यो निर्वाचन क्षेत्र उसका लागि निर्विकल्प दाबी हो । एकीकृत समाजवादीका स्थाई कमिटी सदस्य एवं पूर्वमन्त्री भानुभक्त जोशी यो निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् ।

स्थानीय तहको निर्वाचनमा रौतहट पछि एकीकृत समाजवादीले सबैभन्दा बढि स्थानमा जित निकालेको जिल्ला बझाङ  भएकाले पनि यो निर्वाचन क्षेत्र एकीकृत समाजवादीलाई छोड्न सबैदल सहमत भएका छन् ।  २०७९को स्थानीय निर्वाचनमा एकीकृत समाजवादीले दुईवटा गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएकोमा एउटा गाउँपालिका प्रमुख‚ दुईवटा उप प्रमुखमा उम्मेदवारी दिएकोमा दुईवटै उपप्रमुख र २४ वडा अध्यक्षमा उम्मेदवारी दिएकोमा १७ वटा वडा अध्यक्षमा एकीकृत समाजवादीले जितेको थियो ।

यसैगरी नेकपा एकीकृत समाजवादीलेे कैलाली क्षेत्र नम्बर ४ लाई दोश्रो नम्बरमा दावी गरेको छ । यो निर्वाचन क्षेत्रबाट नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी चुनाव लड्ने तयारीमा छन् । २०७९ को स्थानीय तह निर्वाचनमा कैलाली क्षेत्र नम्बर ४ मा पर्ने घोडाघोडी नगरपालिकाको मेयर तथा अरु केही पालिकाका वडाहरूमा एकीकृत समाजवादीले जित निकालेको थियो । यस कारण यो निर्वाचन क्षेत्रमा आफ्नो पार्टीको बलियो प्रभाव रहेको एकीकृत समाजवादीको निष्कर्ष सहित दावी गरेको छ ।

यस बाहेक अछाम २ र डोटीमा पनि एकीकृत समाजवादीले दावी गर्ने भएको छ । अछाम २ बाट श्रम मन्त्री शेरबहादुर कुँवर चुनाव लड्ने तयारीमा छन् । बझाङ र कैलाली क्षेत्र नम्बर ४ पछि अन्य निर्वाचन क्षेत्रको तुलनामा अछाम क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीेको राम्रो प्रभाव रहेको हुँदा पार्टीले यो निर्वाचन क्षेत्र दाबी गर्ने सहमति भएको हो ।

यसैगरी डोटीमा पनि एकीकृत समाजवादीले दाबी गर्ने भएको छ । डोटीमा नेकपा एसको प्रभाव निकै कमजोर भएपनि पूर्वमन्त्री एवं एकीकृत समाजवादीका नेता प्रेमबहादुर आले यो क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् । २०७९ को स्थानीय तहको निर्वाचनमा डोटीमा नेपाली कांग्रेसले ३४ हजार मत ल्याँउदा नेकपा एसले करिब ३ हजार ३ सय मत मात्र प्राप्त गरेको थियो । संागठानिक तथा जनमतका हिसाबले डोटीमा नेकपा एस कमजोर भएपनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको निकटताका कारण कांग्रेसले आलेका लागि यो स्थान छोड्न सक्ने आकलन छ ।

यसरी डोटीमा नेकपा एसले दाबी गरेपनि नेपाली कांग्रेसका प्रदेश सभापती बीरबहादुर बलायरको गृहजिल्ला भएको र उनले यहाँबाट  चुनाव लड्ने तयारी गरिरहेको हुँदा यो निर्वाचन क्षेत्रको समिकरण मिलाउन भने दलहरुलाई निकै सकस पर्ने देखिन्छ ।

यदि दलहरूबीच एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशबाट ३ सिट मात्रै पाउने सहमति भयो भने बझाङ र कैलाली क्षेत्र नम्बर ४ लाई सुनिश्चित गर्दै अछाम र डोटी मध्ये एक रोज्ने समहति भएको उच्च राजनीतक स्रोतको दाबी छ ।

यो प्रदेशका १६ सिट मध्ये नेपाली कांग्रेसको भागमा ८‚ नेकपा माओवादी केन्द्रको भागमा ४ एकीकृत समाजवादीको भागमा ३  र जसपाले १ सिट पाउने गरी सिट बाडफाँड गर्ने तयारी भईरहेको कांग्रेस स्ंववद्ध उच्च राजनीतिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य