साउन २०, जुम्ला — दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न स्थापित कर्णाली प्राविधिक शिक्षालय पछिल्लो समयमा आर्थिक अभावका कारण थलिँदै छ । २०३७ सालमा मुलुककै जेठो शिक्षालयका रूपमा स्थापित भएको यो शिक्षालय अहिले तीनै तहको प्राथमिकतामा परेको छैन । स्थानीय तह र प्रदेश सरकार अधिकार क्षेत्रभित्र नपर्ने भन्दै पन्छिन्छन् । केन्द्र सरकारको दृष्टि पुग्न सकेको छैन । रकम अभावका कारण बनेका संरचना जीर्ण बनिसकेका छन् । उचित घेराबार र शिक्षालयभित्रको व्यवस्थापकीय पक्ष निकै कमजोर बन्दै गइरहेको छ ।
कर्णाली प्राविधिक शिक्षालय स्थापना भएको ४२ वर्ष पुगेको छ । प्रमुख थापाले भने, ‘कर्णालीकै प्राविधिक जनशक्ति उत्पादन गर्ने आधारशिलाको रूपमा रहेको शिक्षालय नै बजेट अभावले रन्थनिएको छ । भौतिक संरचना निकै जीर्ण छन् । कसरी गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ रु ’शिक्षालयको ४२ औं वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा सहभागी जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले समग्र कर्णालीको ज्युँदो इतिहास बोकेको शैक्षिक संस्थाको उन्नति र प्रगतिमा जोड दिनुपर्ने बताए । ‘प्राविधिक शिक्षालयको जीर्ण संरचना निर्माणमा सबैले पहल गरौं’ उनले भने, ‘शिक्षालयको शैक्षिक र पूर्वाधार विकासमा हातेमालो गरेर अघि बढौं । यही नै कर्णालीवासीका लागि हितजन्य कार्य हुनेछ ।’
उनले भने, ‘अहिले यहाँ उत्पादित जनशक्तिले देशभर छरिएर सेवा दिइरहेका छन् । गुणस्तरीय सेवा दिइरहेको उदाहरणसमेत छन् । अब पनि त्यही कार्यलाई निरन्तरता दिन हामी सबै जुटौं । असम्भव भन्ने केही हुँदैन ।’ प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले कर्णालीका निम्नमध्यमवर्गीय विद्यार्थीका लागि प्राविधिक शिक्षा आर्जनको सहज माध्यम कर्णाली प्राविधिक शिक्षालय नै भएको बताइन् । बजेट अभावले स्तरवृद्धि हुन नसकेका संरचना बनाउन पहल गर्न, शिक्षामा गुणस्तर ल्याउन तथा शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालय जुम्ला हरदम तयार छ । शिक्षामा गुणस्तरसँगै विद्यार्थीमा अनुशासनको पालना गर्न गराउनसमेत निर्देशन दिइन् ।
शिक्षामा गुणस्तर, पूर्वाधार विकासमा जोड र टिकाउ, बिकाउ, सिकाउ हुने खालको शिक्षा प्रदानमा शिक्षालय जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने सुझावसमेत सहभागिले दिएका थिए । वार्षिकोत्सवका अवसरमा प्रमुख थापाले गत आर्थिक वर्षमा शिक्षालयमा विनियोजित ५४ लाख ७५ हजार बजेटमध्ये ९४ प्रतिशत बजेट खर्च प्रस्तुत गरेका थिए । चालुतर्फ विनियोजित ७ करोड ४७ लाख ८० हजार ५ करोड ५८ लाख ५६ हजार ८ सय ६२ रुपैयाँ खर्च भएको समेत जानकारी गराए । शिक्षालयमा एचए र स्टाप नर्सको पढाइको उच्च माग भए पनि संघीय सरकार र कर्णाली प्रतिष्ठानले अनुमति नदिएको गुनासो शिक्षालय प्रमुख थापाको थियो ।

