माधव नेपालको फोटो हटाउन केपी ओलीले डोरमणि पौडेललाई फोन गरेपछि……

Categories:

-

हेटौँडा । यतिखेर भित्रभित्रै नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) मिल्न लागेको भनेर एमाले पंक्तिबाट नौमती बाजाकै रागमा जोडतोडले हल्ला चलाइएको छ ।

भित्रभित्रै नेताहरु लागिरहेका होलान् तर एमालेका साइबर सेनाले फेसबुकमा लेखेजस्तो यति सजिलै समाजवादीका नेताहरु एमालेजनसँग मिल्लान् र ? त्यहीँ गएका १० भाइहरुको हालत देखेर पनि एमाले अरु कति घमण्ड देखाउँछ, हेरौँ न भन्ने समाजवादी नेतृत्वको लाइन नै छ । अहिलेसम्म समाजवादीलाई पार्टीको मान्यतासमेत नदिएर अदालत गएको एमालेले भने समाजवादी गाभिन आउने हल्लालाई चर्कै स्वर दिइरहेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र समाजवादी अध्यक्ष माधवकुमार नेपालको बोलचालसमेत बन्द छ । कतै भ्रमणमा जाँदा विमानस्थलको भिआइपी कक्षमा दुई नेता आमनेसामने हुँदासमेत ओली तर्केर हिँड्छन्, भाषण गर्दा माधव नेपालको नाम लिएँ, कुल्ला गर्छु भन्छन्, यस्तो बेला एमालेमा समाजवादी गाभिन लाग्यो भनेर हल्ला गर्ने एमालेजनलाई एउटा गतिलो उदाहरण पस्कन चाहन्छौँ ।

घटना १४ असार २०७८ को हो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको वार्षिकोत्सव । हेटौँडामा भएको वार्षिकोत्सवमा प्रतिष्ठान के हो भनेर एउटा वृत्तचित्र पनि कार्यक्रममा देखाइयो । पैसा दिएर आफन्तलाई दिइएको काम नराम्रो हुने कुरै भएन । काम नभए पनि टन्न सपना बाँडेर प्रतिष्ठानको उडान गजबको थियो । सबैले हेरे, घर गए ।

तर साँझतिर एउटा फोन आयो बागमती प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति डोरमणि पौडेललाई । फोनमा सञ्चोबिसञ्चो, आदिइत्यादि सोधनी थिए नै, प्रसंग उठिहाल्यो, त्यही वृत्तचित्रको । त्यहाँ प्रतिष्ठान कसको नाममा राखियो भन्नेमा मदन भण्डारी देखाइएको थियो । भण्डारीको ३ सेकेण्डको भिडियो राखिएको थियो । त्यही भिडियो हेरेर ओलीले पौडेललाई फोन गरेका रहेछन् । भिडियोमा ३ सेकेण्ड प्रयोग गरिएको मदन भण्डारीको प्रसंगमा रहेछन् मञ्चमा माधवकुमार नेपाल । ओलीले फोनमा पौडेललाई भनिहाले, ‘त्यो भिडियोमा माधव नेपाल कसरी ?’

लगत्तै मुख्यमन्त्री कार्यालयबाट प्रतिष्ठानमा फोन गयो । त्यो भिडियोमा मदन भण्डारी बोलिरहँदा ३ सेकेण्ड देखिएको माधव नेपाल हटाउनु प¥यो । प्रतिष्ठानले भिडियो बनाउने टिमलाई भनेर मदन भण्डारी बोलेको भिडियो हटाएर ३ सेकेण्डको स्टिल फोटो राखेर फेरि वृत्तचित्र सार्वजनिक ग¥यो ।

प्रचण्डसँग मिलेर आफूलाई नेकपा अध्यक्षबाट हटाएर साधारण सदस्य पनि नरहने निर्णय गर्ने माधव नेपालदेखि ओली कति बिच्किएका रहेछन् ? यही भिडियोकाण्डले पनि प्रष्ट हुन्छ । तर नहुने कुरामा बल गरेर एमाले र समाजवादी वार्ता सकारात्मक, ओली र नेपाल मिल्ने हौवा फैलाएर यतिखेर दिन खोजिएको सन्देश के हो ? यति धेरै बिच्किएका ओली एउटा स्थानीय चुनाव हार्दैमा सजिलै माधव नेपालसँग फेरि गम्लंग अंगालो हाल्लान् र, ३ सेकेण्डको भिडियो त हटाउन आदेश दिन कुण्ठाग्रस्त मनोग्रन्थ उहाँमा घट्यो होला र ?

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य