गठबन्धनमा समाजवादीलाई सकस, फेरि टारियो मन्त्रीको शपथ

Categories:

-

काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट प्रस्तावित मन्त्रीहरुको शपथ फेरि टरेको छ । गठबन्धनका शीर्ष नेताहरुबीचको छलफलपछि ‘आज साँझसम्म गर्ने’ भनिएको शपथ फेरि ‘भोलि गरौँ है’ भनेर टारिएको हो ।

एकीकृत समाजवादीको मन्त्री हेरफेर पछिल्लो समय सत्तागठबन्धनको लागि पेचिलो बनेको छ । पार्टीको निर्णय कार्यान्वयनमा आलटाल भएपछि एकीकृत समाजवादी नेतृत्व प्रधानमन्त्री शेरबहादुर देउवाप्रति सशंकित भएको छ ।

एकीकृत समाजवादीले गएको जेठ २२ मा अहिलेका मन्त्रीलाई फिर्ता बोलाएर सरकारमा नयाँलाई पठाउनु निर्णय गरेको हो ।   समाजवादीले संस्कृति तथा पर्यटन मन्त्रीमा जीवनराम श्रेष्ठ, श्रममन्त्रीमा शेरबहादुर कुवँर, शहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा भवानी खापुङ र स्वास्थ्य राज्यन्त्रीमा हिराचन्द्र केसीलाई प्रस्ताव गरेको छ । तर प्रधानमन्त्री देउवाले एकीकृत समाजवादीको निर्णय र प्रस्तावलाई विभिन्नमा अड्काउनु भएको छ ।

अध्यक्ष नेपालले आफ्नो पार्टीको निर्णयअनुसार तत्काल मन्त्री हेरफेर नभए सरकारबाट बाहिरिने चेतावनी दिएपछि प्रधानमन्त्री देउवाले आज शपथ गराउने वचन दिनुभएको थियो । बालुवाटारमा निकै आक्रोशित हुनुभएका नेपालले प्रधानमन्त्री देउवालाई तत्काल आफ्नो पार्टीको सिफारिस कार्यान्वयन गर्ने या सहकार्य तोड्ने एउटा विकल्प रोज्न भनेपछि देउवा हच्किनुभएको हो ।

प्रधानमन्त्री देउवासँग बिहीबार भेटमा नेपालले २४ घण्टाभित्र निर्णय कार्यान्वयन नभए पत्रकार सम्मेलन गरेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गर्ने, आफ्ना मन्त्रीहरुलाई सामूहिक राजिनामा दिन निर्देशन दिएर सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएपछि  प्रधानमन्त्रीले ‘हुन्छ, भोलि गरौँ’ भन्नुभएको स्रोतको भनाई छ ।

समाजवादीका एक उच्च तहका नेताले प्रधानमन्त्री कार्यालयबाट भोलिको लागि शपथको तयारी गर्न खबर आएको जानकारी दिएका छन् । अध्यक्ष  नेपालले बालुवाटार पुगेर ‘फाइनल’ कुरा गरेपछि प्रधानमन्त्री देउवा मन्त्री फेर्न सहमत हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य