बलात्कारबाट जन्मिएको बच्चा हुर्क्याउन अनशन ! खै कहाँ छन् महिलावादी र अधिकारकर्मीहरु ?

Categories:

-

काठमाडौं । बलात्कारपछि जन्मिएको बच्चा हुक्र्याएकी १९ वर्षीया निहारिका राजपुत न्यायको लागि अनशन बसेकी छन् । धनुषाकी निहारिका बच्चा जन्मिएको २ वर्षसम्म पनि न्याय नपाएपछि काठमाडौंको बसन्तपुरमा अनशन बसेकी हुन् ।

१९ वर्षीया निहारिका दूधे बालक बोकेर उनी न्यायको लागि विभिन्न ठाउँ धाइन् तर आफ्नो पीडा कसैले  नसुनेपछि अनशन बसेकी हुन् । आँखै अगाडि आफ्नै बलात्कारी नर्धक्क हिँड्दा  छटपटी हुन्छ उनलाई । तर पनि कानुनी राज्यमा न्याय पाइन्छ कि भन्ने आशा छ । न्यायको लागि उनले धेरै सास्ती खेपेकी छन्, निराश छिन् तर आशा भने मारेकी छैनन्। न्याय मागिरहेकी निहारिकाको काखमा २१ महिनाको छोरा पनि छन्।

२०७६ साल कार्तिकमा आफ्नै साथीका दाजुले बलात्कार गरेपछि उनको यस्तो अवस्था भएको हो । उनले बलात्कार गर्ने साथीका दाजुले मन पराउने बताएका थिए। निहारिकाले उनको प्रेम प्रस्ताव अस्वीकार गर्दै आएकी थिइन्। बलात्कार भएको दिन पनि उनकी साथीले निहारिकालाई सँगै पढ्न आफ्नो घरमा बोलाएको र त्यही दिन खानेकुरामा नशालु पदार्थ पिलाएर बलात्कार गरेको निहारिकाको आरोप छ। निहारिका त्यतिबेला कक्षा ११ मा अध्ययन गर्थिन्। बलात्कार भएको समय आफ्नो उमेर १७ वर्ष रहेको निहारिकाले बताउँदै आएकी छन् ।

बलात्कार भएको १ महिनापछि निहारिकाले आफू गर्भवती भएको थाहा पाइन्। त्यसपछि उनी निरन्तर न्यायका लागि भौँतारिइरहेकी छन्। बलात्कारपछि गर्भवती भएकी निहारिकालाई धेरैले बच्चा फाल्न सुझाएका थिए। तर, उनको मनले बच्चा फाल्न मानेन। उनले छोरालाई जन्म दिइन्। एक्लै छोरो हुर्काइरहेकी निहारिका अहिले आर्थिक चपेटामा परेकी छन्। उनले आफूसँग कोठा भाडा तिर्ने र छोरालाई खुवाउने समेत पैसा नभएको बताइन्

न्यायका लागि प्रहरी हुँदै अदालतसम्म पुगेकी निहारिकालाई जिल्ला अदालत धनुषाले न्याय दिन सकेन। उल्टै आरोपीलाई सफाइ दियो। त्यसपछि न्याय खोज्न काठमाडौं आएकी निहारिका कहिले माइती घरको सडक पेटीमा त कहिले बसन्तपुरमा भेटिन्छिन्। उनले महिलाको हकरअधिकारको रक्षाका लागि गठन भएको महिला आयोगले पनि आफूलाई असहयोग गरेको आरोप लगाएकी छन्।

जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत धनुषामा पुनरावेदन दिएकी निहारिका ४ महिना बितिसक्दा पनि अदालतले पेसी नतोकेपछि निराश देखिन्छिन्। गएको शुक्रबारदेखि न्यायका लागि आमरण अनशन सुरु गरेकी निहारिकाले माइतीघरबाट अनशन शुरु गरेकी थिइन्। तर माइतीघरमा अनशनरत निहारिकालाई रात परेपछि प्रहरीले बलजफ्ती उठायो। त्यसपछि उनको अनशनस्थल परिवर्तन भयो। निहारिका आफ्नो बच्चाको डीएनए परीक्षण गरी छोरालाई न्याय दिनुपर्ने मागसहित अनशनमा बसेकी हुन्।

मुलुकमा अन्य सातातिना घटना हुँदा महिलावादी तथा अधिकारकर्मीहरु जुर्मुराउँछन् । कुनै युवतीले कसैलाई दुर्व्यवहारको आरोप लगाइन् भने प्रमाण बिना नै तिनको पक्षमा कुर्लिन्छन्, नारा जुलुश र घेराउ गर्छन् । तर एक किशोरी बलात्कारको प्रमाण मात्र होइन, त्यसैको कारण उत्पन्न पीडादायी जीवन बिताउन विवश छिन् । न्यायको लागि भौतारिन बाध्य छिन् ।  निहारिका बलात्कारपछि जन्मिएको दूधे बालक बोकेर न्यायको लागि भौतारिँएको २ वर्ष बित्दा पनि महिलावादी र अधिकारकर्मीहरुले कहीँ कतै आवाज उठाएको देखिँदैन, सुनिँदैन । एक किशोरी काखमा दुधे बालकसहित न्यायको लागि बसन्तपुरमा छट्पटाइरहेको देख्नेहरु भन्छन्- खै कहाँ छन, महिलावादी र अधिकारकर्मीहरु ?

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य