काठमाडौं । आफ्ना मन्त्री तत्कालै फेर्ने सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको निर्णय पेन्डिङ भएको छ । एकीकृत समाजवादीको वहालवाला मन्त्रीहरुको चलखेल, पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अरुचि र प्रधानमन्त्री शेरबहादुर देउवाको छिर्के दाउको कारण पूर्व प्रधानमन्त्रीद्य माधवकुमार नेपाल र झलनाथ खनालको निर्णय पेन्डिङ भएको हो ।
एकीकृत समाजवादीको आइतबार बसेको सचिवालय बैठकले आफ्ना ४ मन्त्रीलाई फिर्ता गरेर नयाँ नेतालाई जिम्मेवारी दिने निर्णय गरेको थियो । पूर्व प्रधानमन्त्री नेपालको अध्यक्षता र सम्मानित नेता खनालको उपस्थितिमा भएको बैठकले अहिलेका मन्त्रीहरु किसान श्रेष्ठ, प्रेम आले, विरोध खतिवडा र रामकुमारी झाक्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने निर्णय भएको हो ।
बैठकले समाजवादीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको रुपमा जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्रीको रुपमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामा मन्त्री भवानी खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको रुपमा शेरबहादुर कुँवर र हीरा केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको रुपमा सिफारिस गरेको थियो। समाजवादीले नयाँ मन्त्रीको सूची आइतबार नै प्रधानमन्त्री देउवालाई बुझाएको थियो । नयाँ मन्त्रीको सूची प्रधानमन्त्रीलाई बुझाएको समाचार सार्वजनिक भए लगत्तै वहालवाल मन्त्रीले यसबारे आफूहलाई थाहा नभएको अभिव्यक्ति दिए, अनि आफ्नो पद जोगाउन चलखेल शुरु गरे । आफ्नो पार्टीको निर्णय बदर गराउन केही मन्त्रीहरु रातारात प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालको निवास तथा अखडामा समेत धाउन थाले र यसमा केही विचौलिया समेत प्रयोग गरे । उता पार्टीको निर्णयसँगै मन्त्रीको सूचीमा परेकाहरु शपथको पखाईमा थिए । प्रधानमन्त्रीका सचिवालयका कर्मचारीले समेत नयाँ मन्त्रीहरुको शपथको आवश्यक प्रकृया मिलाउँदै थिए । शपथ सोमबार दिउँसोको लागि तयारी हुँदै थियो । तर यसबीचमा शपथ गराउने भन्दा तुहाउने गिरोह बलियो देखियो । अनि बजेटको वाहना बनाएर नयाँ मन्त्रीको नियुक्ति र सपथ रोकियो ।
प्रधानमन्त्री देउवाले समाजवादीका अध्यक्ष नेपाल र माओवादी अध्यक्ष दाहालसँगकै सहमति अनुसार बजेट पारित नहुँदासम्म मन्त्री नफेर्ने सहमति पछि अहिलेलाई नयाँ मन्त्रीको नियुक्ति प्रक्रिया रोक्नु भएको भनिएको छ । माओवादी अध्यक्ष दाहाल पनि मन्त्रीमण्डल तत्काल हेरफेर गर्ने पक्षमा नरहेको स्रोतको भनाई छ । तर यसमा प्रधानमन्त्री देउवा सहमति भन्दा छिर्के दाउ अर्थात् अर्कै खेलतिर लाग्नु भएको स्रोत बताउँछन् ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ नेपाली कांग्रेस २३ सिट मात्रै छ । गएको संघीय तथा प्रदेशसभा निर्वाचनमा सबैतिर बढारिएको कांग्रेसलाई माधवकुमार नेपाल र पुष्पकमल दाहालले नै सत्ताको नेतृत्व सुम्पिएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको स्वच्छाचारीको कारण नेता नेपाल र दाहाल कम्युनिष्ट सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाउन बाध्य हुनुभएको हो । तर देउवाले सरकारको नेतृत्व गरेपछि भने गुन बिर्सिएको आभाष हुन थालेको समाजवादीका नेताहरुको बुझाई छ । स्थानीय तह निर्वाचनमै कांग्रेस र माओवादी इमान्दार नभएको समाजवादीको निश्कर्ष छ । स्थानीय तह निर्वाचनमै झस्किएको समाजवादीलाई नयाँ मन्त्रीको शपथ पेन्डिगले थप सशंकित बनाएको छ ।
प्रधानमन्त्री देउवाले पछिल्लो एकीकृत समाजवादी र माओवादी केन्द्रलाइए भन्दा समय जनता समाजवादी पार्टीलाई महत्व दिन थाल्नु भएको छ । केहीदिनअघि प्रधानमन्त्री देउवा र जसपाका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता समेत भएको थियो । देउवाले जसपालाई सरकारमा ल्याउन प्रयास गरिरहनु भएको छ । प्रधानमन्त्री देउवा अर्को साता अमेरिका भ्रमणमा जाने सम्भावना छ । नेपाल–अमेरिका मैत्री सम्बन्धको ७५औँ वर्षगाँठका अवसरमा प्रधानमन्त्री देउवाको जेठ २८ गते अमेरिकामा भ्रमण जाने सम्भावना रहेको स्रोत बताउँछ । तर अहिलेसम्म भ्रमण आधिकारिक भने भइसकेको छैन । यदि देउवा जेठ २८ गते अमेरिकातिर लाग्नु भयो भने समाजवादीको मन्त्री हेरफेर निर्णय झन् अन्योलमा पर्न सक्ने देखिएको छ । प्रधानमन्त्री देउवाले अमेरिकाबाट फर्केपछि जसपालाई सरकारमा सहभागी गराएर मंसिरमा संघको निर्वाचन घोषणा गर्ने मनस्थिति बनाउनु भएको हुन सक्ने स्रोतको बुझाई छ ।


