काठमाडौँ । आजभन्दा २१ वर्ष अर्थात २०५८ साल जेठ १९ अर्थात आजैको दिन कहालीलाग्दो दरबार हत्याकाण्ड भयो । तत्कालीन राजा वीरेन्द्रको बंश मात्र विनाश भएन त्यो कालो दिन आम नेपाली जनताको मनमष्तिष्कमा सधै कालो धब्बाको रुपमा गढेर बसेको । आज २१ वर्ष पूरा भएको त्यो दिनलाई नेपालका लागि कालो दिन मात्र नभई राजतन्त्रको अवशानको बिनजारोपण समेत त्यही दिनबाट शुरु भएको थियो ।
१९ जेठ २०५८ को साँझ नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाह सहित उनको परिवारका रानी ऐश्वर्य, युवराज दीपेन्द्र र नीराजन तथा युवराज्ञी श्रुति शाहसहितको एकै चिहान भएको थियो । हत्याकाण्डमा राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरू पनि मारिएका थिए ।
हत्यालाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ‘ग्र्यान्ड डिजाइन’को संज्ञा दिएका थिए । तर अहिलेसम्म त्यो ‘ग्र्यान्ड डिजाइन’ के थियो र हत्या कसले र किन गर्यो भन्ने यकिन तथ्य बाहिर आउन सकेको छैन ।
तत्कालीन सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा गठित दरबार हत्याकाण्ड छानबिन आयोगले युवराज दीपेन्द्रले नै राजपरिवारको हत्या गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । तर, सो प्रतिवेदनप्रति आम जनता अहिले पनि विश्वस्त हुन सकिरहेको देखिँदैन ।
उदार र किासशील राजाको रुपमा छवि बनाएका वीरेन्द्रको वंश नाशपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । राजा वीरेन्द्रपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भए । उनी नै नेपालको इतिहासमा अन्तिम राजा बनेका छन् । हत्याकाण्डको ७ वर्षपछि अर्थात् २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरियो ।
अहिलेसम्म त्यो हत्याकाण्डको शुक्ष्म अध्ययन हुन सकिरहेको छैन । तत्कालीन माओवादी नेता डा बाबुराम भट्टराईले उक्त घटनालाई आधुनिक कोतपर्वको संज्ञा दिएर लेख नै प्रकाशित गरे, ‘नयाँ कोत पर्वलाई मान्यता नदिऔं’ । देश दुनियाँले राजदरबार हत्याकाण्डबारे अनेक कोणबाट आआफ्नो दृष्टिकोण पेश गरे । चिनिया प्राध्यापक वाङ् चुङ्ले नारायणहिटी घटनाका खलनायक भन्दै आफ्नो किताब ‘नेपालको सुरक्षात्मक रणनीति’ को पृष्ठ १९ मा अमेरिकी र भारतीय गुप्तचर संस्थाको हात रहेको भनेका छन् । काँग्रेस नेता चक्रप्रसाद बाँस्तोलाले २०६७ मा सोही कुराको खुलासा गरेका थिए ।
राजकुमार दीपेन्द्रको माथमा सबै दोष हालेर ध्यान अन्यत्र मोड्न खोजेको जस्ता तर्क र आरोप, प्रत्यारोप, लाञ्छना, गालीगलौज र अपजस लाग्ने नलाग्ने ठाउँमा पनि लागे । तत्कालीन शाही नेपाली सेनाको अक्षमताबारे भयंकर आलोचना भयो । राजपरिवारको सुरक्षा गर्न नसक्ने सेनाको के काम भनेर औंला ठडियो । यस्ता रहस्यमय घटनाको विशेषता र प्रवृत्ति नै यस्तो हुँदोरहेछ, जसले शंकाको सुइ जता पनि तेर्साउन मिल्ने बनाउँदो रहेछ ।

