वडाध्यक्ष शिव खनालको अर्को काण्डः छोरा जन्मनुभन्दा तीन वर्षअघि नै आमाको मृत्यु भएको प्रमाणित गरिदिए

Categories:

-

हेटौँडा । २ वर्षअघि आमाले तीनवटा वडाबाट सामाजिक सुरक्षा भत्ता बुझ्ने गरेको विषयले चर्चामा आएका मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष शिवप्रसाद खनालको अर्को काण्ड बाहिर आएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट पुनः वडाध्यक्षमा निर्वाचित भएका खनालबाट अघिल्लो कार्यकालमा भएको त्रुटी बाहिर आएको हो ।

खनालको घरबाट तीनसय मिटरको दूरीमा रहेका छिमेकी कृष्णबहादुर भोलनकी आमा नन्दकुमारी भोलनको वि.सं २०४२ सालमा निधन भएको थियो । तर, वडाध्यक्ष खनालले उनको निधन वि.सं २०३५ भदौ १५ गते भएको भनी प्रमाणित गरिदिएका छन् । २०७८ पुस ५ गते वडा कार्यालयबाट भोलनको २०३५ मा निधन भएको प्रमाणित गर्दै सिफारिस पत्र दिइएको छ । जुन पत्रमा वडाध्यक्ष खनालले हस्ताक्षर गरेका छन् ।

कहिलेकाहिँ परिवारबाट नै गलत जानकारी आउँदा वडाध्यक्षले त्रुटी गर्न सक्छन् । नन्दकुमारी भोलनको मृत्यु भएको मितिभन्दा ८ वर्षअघि नै मृत्यु भएको प्रमाणित गर्दा त्यति फरक पर्ने थिएन होला, तर यहाँ अचम्मको कुरा के छ भने, उनको कान्छा छोरा गंगालाल तमाङ भोलन २०३७ साल असोज ५ मा साविकको हाँडीखोला गाविस–२ अहिलेको मनहरी–१ मै जन्मिएका हुन् । कान्छा छोरा गंगालालले नागरिकताको प्रथम प्रतिलिपि २०७७ असार २९ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट लिएका छन् । नागरिकता प्रतिलिपि लिन वडा कार्यालयको सिफारिस अनिवार्य छ । जसबाट गंगालाललाई नागरिकता प्रतिलिपिको सिफारिस पनि खनालकै कार्यकालमा भएको पुष्टि हुन्छ ।

खनाल र भोलन परिवार वर्षौंदेखि छिमेकी रहेको जनाइएको छ । भोलनको परिवारबारे खनाल जानकार हुँदाहुँदै पनि त्यस्तो किन गरे ? शंका गर्ने बाटाहरु प्रशस्त देखिन्छन् ।

यस विषयमा प्रश्न राख्दा वडाध्यक्ष खनालले आफूले नियतवस त्यस्तो नगरेको बताए । कसका दाजुभाइ कति छन् भनेर आफूलाई थाहा नहुने उनले बताए । आफ्नो छिमेकी भएको कुरा पनि खनालले स्वीकारेनन् ।

अहिले गंगालाल वैदेशिक रोजगारीका लागि जापानमा बसोबास गर्दै आएका छन् । आफ्नो श्रीमानको जन्मभन्दा ३ वर्षअघि नै आमाको मृत्यु भएको प्रमाणित हुँदा धेरै तनाव खेप्नु परेको गंगालालकी श्रीमती देवी भोलन बताउँछिन् । सबै कुरा थाहा हुँदाहुँदै पनि वडाध्यक्षबाट गम्भीर त्रुटी भएको उनले आरोप लगाइन् ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य