काठमाडौं । वैवाहिक जीवनमा बाँधिदा प्रायः सबैले सँगैबाँच्ने सँगैमर्ने कसम खाएका हुन्छन् । तर कतिपय दम्पतीले त्यो कसम उल्लंघन गर्दै सम्बन्धविच्छेद समेत गर्न पुग्छन् । तर केहीले भने त्यो कसम पूरा गरेरै छोड्छन् । कसम पूरा गर्नेमा परेका छन्, भारत महाराष्ट्रका त्रिपाठी दम्पती । महाराष्ट्रको ठाणेबाट नेपाल घुम्न आएका अशोक त्रिपाठी र उनकी पत्नी वैभवीले सम्बन्धविच्छेद संघारमै कसम जोगाएका छन् । खटपटको कारण सम्बन्धविच्छेद हुनुअघि पारीवारिक मिलनमा जुटेका अशोक त्रिपाठी र उनकी पत्नी वैभवीको तारा एयर विमान दुर्घटनामा निधन भएको छ ।
नेपालस्थित भारतीय दूतावासले विमान दुर्घटनामा महाराष्ट्र ठाणेका अशोक त्रिपाठी, उनकी पत्नी वैभवी बाँडेकर–त्रिपाठी, छोरा धनुष त्रिपाठी, छोरी ऋतिक त्रिपाठीमा परेको जनाएको छ । स्रोतका अनुसार पारीवारिक खटपटको कारण त्रिपाठी दम्पती सम्बन्धविच्छेदको संघारमा थिए । दुबै जनाले सम्बन्धविच्छेदको लागि दिएको मुद्दा अदालतमा विचाराधिन थियो । दुबै अलगअलग बस्दै आएका थिए । अदालतले फैसला नआएसम्म परिवारलाई प्रत्येक वर्ष १० दिन सँगै बिताउन भनेको थियो । अदालतको आदेश अनुसार उनीहरु अहिले भनेसँगै थिए । बुबाआमासँगै भएको अवस्थामा छोराछोरीमा पनि उमङ्ग छाएको थियो । वर्षमा १० दिन आउने पारीवारिक उमङ्गसँगै उनीहरु मुस्ताङ घुम्ने शोचले आएका हुन् । तर उनीहरुले न मुस्ताङ टेक्न पाए नत सम्बन्धविच्छेद देख्न । विच्छेदको संघारमा रहेका उनीहरु सम्बन्ध जोगाउँदै धर्तीबाट बिदा भए…सँगैजिउने सँगैमर्ने भने जस्तै ।
वैभवीकी आमा घरमा एक्लै
विमान दुर्घटनाको जानकारी पाएपछि वैभवीका छिमेकीले भने ,‘यो निकै दूर्भाग्यपूर्ण हो र हामी सबै स्तब्ध भएका छौँ । वैभवीको घरमा वृद्ध आमा मात्रै छिन् । रुँदा रुँदा उनीको हालत खराब छ । वैभवीकी आमाको केही दिनअघि शल्यक्रिया भएको थियो र उनी घरमा एक्लै छिन् ।’
वैभवी मुम्बईको बान्द्रा९कुर्ला कम्प्लेक्सस्थित एक निजी कम्पनीमा सफ्टवेयर इन्जिनियरको रूपमा काम गर्थिन । छोरा धनुषले इन्जिनियरिङ पास गरेका थिए । छोरी ऋतिका स्कुलमा पढ्दै थिइन ।
अशोकका बुबा जिल्ला न्यायाधीश थिए
अशोकको ओडिशामा एचआर कन्सल्टेन्सी फर्म छ । उनी पाँच दाजुभाइमध्ये काइला हुन् । उनका परिवारका बाँकी सदस्य पुणेमा बस्छन् । दुर्घटनाको जानकारी पाएपछि पूरै परिवार राति अबेर ठाणे पुगेका थिए । अशोकका बुबा जिल्ला न्यायाधीश थिए । उनको ११ वर्षअघि निधन भएको थियो । उनकी आमाको पनि २०२० मा निधन भयो ।
अशोक आफ्नो काकासँग जान लागेका थिए
अशोकका भाइ कानन त्रिपाठीले भने, ‘अशोकले मसँगै नेपाल घुम्ने योजना बनाएका थिए । यसमा उनी निकै खुसी थिए । यद्यपि, मेरो केहि काम पर्यो, त्यसैले म जान पाइनँ । अशोक मे २६ मा मुम्बई आएका थिए र यो परिवार यहाँबाट नेपाल आएका थिए । अशोकका केयरटेकरले भने, ‘सर अशोक मुम्बई गएको दिन उहाँले आफू कहिले फर्कने भनेर केही भन्नुभएको थिएन । उहाँले मलाई घरको हेरचाह गर्न मात्र आग्रह गर्नुभयो ।’ एजेन्सी


