काठमाडौं । काठमाडौं उपत्यकामा आज मध्येरातिदेखि मदिरा किनबेच गर्न नपाइने भएको छ । स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण बनाउन प्रशासनले मंगलबार रातिदेखि शुक्रबारसम्म मदिराजन्य पदार्थ किनबेचमा रोक लगाएको हो। काठमाडौ, ललितपुर र भक्तपुर जिल्ला प्रशासनले मौन अवधिसँगै मदिराजन्य पदार्थ किनबेच निषेध गरिएको जनाएको छ ।
‘स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ७१ मादक पदार्थ निषेध गर्ने मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनको लागि मिति २०७९ वैशाख २७ गते मंगलबार राती १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्य नगर्नूरनगराउनू होला’, तितवटै जिल्ला प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।
स्थानीय तह निर्वाचनमा आज राति १२ बजेदेखि मौन अवधि लागू हुँदैछ। मौन अवधिभर प्रचारप्रसार लगायतका गतिविधिमा निर्वाचन आचारसंहीता लागू हुने निर्वाचन आयोगले जनाएको छ।चुनावी प्रचारप्रसारका लागि आज अन्तिम दिन हो। मौन अवधिभर कुनै पनि प्रचारप्रसारका गतिविधि गर्न नपाइने आचारसंहीतामा उल्लेख छ।
मौन अवधि शुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको तीन सय मिटर क्षेत्रमा निर्वाचन चिन्ह र प्रचारप्रसारका सामग्री हटाउनुपर्ने, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन। मौन अवधिमा बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज, जुलुस प्रदर्शन जस्ता गतिविधि तथा सभा वा समारोह गर्न पनि निषेध गरिएको हुन्छ ।


