एजेन्सी। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेलगत्तै राजधानी किभबाट मानिसहरूको भागभाग चलेको छ । सैन्य कारबाही गर्ने पुटिनको आदेशसँगै युक्रेनमा बम हमला भइरहेका छन् ।
राजधानी किभमा इमरजेन्सी साइरन बजाइएको छ । प्राप्त तस्वीरहरूमा मानिसहरु शहरबाट भाग्न तछाडमछाड गरिरहेका देखिन्छन् । मानिसहरूले राजधानी छोडिरहँदा सडकमा कारहरूको ठूलो लाइन देखिएको छ ।
राजधानीका एटीएमहरूमा ठूलो लाइन लागेको छ । टेलिभिजन दृष्यमा मानिसहरूले सडकमा प्राथना गरिरहेको पनि देखिएको छ ।
रुसका राष्ट्रपति पुटिनले नेपाली समय अनुसार बिहीबार बिहानै पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाहीको घोषणा गरेका थिए । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपत्कालीन बैठक बसिरहेकै बेला पुटिनले टेलिभिजन सम्बोधनमार्फत् आक्रमणको घोषणा गरेका थिए ।
सम्बोधनका क्रममा पुटिनले पूर्वी युक्रेनमा तैनाथ गरिएका युक्रेनी सेनालाई हतियार बिसाएर फर्किन चेतावनी दिएका थिए । अन्यथा रगत बगे आफू जिम्मेबार नहुने उनकाे चेतावनी थियाे । पुटिनको आक्रमणको घोषणापूर्व नै युक्रेनमा राष्ट्रिय आपतकाल घोषणा गरिएको थियो । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशमा ३० दिनका लागि आपतकाल लागू गर्न गरेको प्रस्ताव संसदले पारित गरेको हो ।