काठमाडौँ । कम मेहनतमा धेरै पैसा कमाउने लोभमा पछिल्लो समय मौलाएको एउटा धन्दा हो ‘मिटर ब्याज ।’ कम लगानी गरेर छोटो समयमै धेरै कमाउने लोभले मिटर ब्याजमा लगानी गर्ने धन्दा मौलाउँदा सामाजिक र आर्थिक अपराध पनि बढेका छन् ।
‘मिटर ब्याज’को अवैध धन्दा रोक्ने पहिलो काम नेपाल प्रहरीको हो । तर केही प्रहरीका उच्चअधिकारीहरु नै ‘मिटर ब्याज’को धन्दामा साझेदार भएको पीडितहरु गृह मन्त्रालयमा पुगेका छन् । प्रहरीको नायव उपरीक्षक (डिएसपी) देखि वरिष्ठ उपरीक्षक (एसएसपी)सम्मको पैसा ‘मिटर ब्याज’मा लगाइदिने मिटर ब्याजी हुन् राजु अवाले । काठमाडौँ–३२ कोटेश्वर स्थायी घर भइ ललितपुर बस्दै आएका अवाले प्रहरी अधिकृतहरुको पैसा ‘मिटर ब्याज’मा लगाइदिने र पैसा नउठेपछि तिनै प्रहरीको शक्ति प्रयोग गरेर अशुल्ने काम गरेर धनी भइरहेका छन् ।
अवालेले कोटेश्वर र पाटनमा दुईवटा रेष्टुरेन्ट सञ्चालन गरेका छन् । त्यही रेष्टुरेन्टमा बसेर ‘मिटर ब्याज’को धन्दा चलाउने गरिएको छ । अवालेले आफैँ र प्रहरी अधिकारी प्रयोग गरेर ‘मिटर ब्याज’को पैसा अशुल्न थालेपछि पीडितहरु गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयसम्म गुनासो बोकेर पुगेका छन् ।
अवालेले एसएसपी श्याम ज्ञवाली, उपत्यका अनुसन्धान महाशाखाका एसपी कृष्ण पँगेनी, डिएसपीहरु काजीमान आचार्य, तिलक भारतीलगायतको पैसा ‘मिटर ब्याज’ मा लगाउने गरेको स्रोतको दाबी छ । त्यसो त अवालेको बसाई नै उपत्यकाका प्रहरी कार्यालयमै हुने गरेको छ ।
यतिसम्मकी उनी प्रहरीले प्रयोग गर्ने कलसाइन कोड जोडेर पनि पीडितलाई थर्काउँछन् । जस्तो ललितपुरको प्रहरी प्रमुखको कलसाइन हो, ‘पापा वान ।’ एक पीडितले भने, ‘कहिले ‘पापा वान’, कहिले ‘किलो वान’ त कहिले ‘ब्राबो वान’सँग छु भनेर धम्काउँछन् । उनलाई काठमाडौँका महानगरी वृत्तहरुको हाकिमको कलसाइन पनि थाहा छ ।’
त्यसो त अवालेविरुद्ध विभिन्न मुद्दा पनि प्रहरीमा छ । गएको भदौ ५ गते यौन व्यवसाय चलाएको आरोपमा अवाले पक्राउ परेका थिए । उनीसहित ९ जनाविरुद्ध १७ भदौमा ललितपुर प्रहरीले अदालतमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा हालेको छ ।
तर उनै आरोपी अवाले ‘मिटर ब्याज’को एउटा केश लिएर यही माघ १३ गते उपत्यका अनुसन्धान महाशाखाका प्रहरी उच्च अधिकारीसँग बैठक गर्न उपत्यका अनुसन्धान महाशाखाका कार्यालय पुगेका थिए । स्रोत भन्छ, ‘अवाले राज्यको नजरमा अहिले अपराधी हुन् ।’ तर उनै अवाले उपत्यका अनुसन्धान महाशाखाका प्रहरी उच्च अधिकारीसँग बैठक गर्छन् । यदि प्रहरी प्रधान कार्यालयले छानबिन गरे अवालेको प्रहरी अधिकृतसँगको संगत र कराोबार प्रमाणित हुने नै छ ।
यता, एसएसपी श्याम ज्ञवाली भने प्रहरीले आफ्दो दायित्व नभुलेको बताउँछन् । अनुसन्धानको पाटोबाट काम भइरहेको बताउँदै ज्ञवालीले भने, ‘कहिलेकहीँ सूचनाहरु बाहिर आएजस्तो सत्य नहुन पनि सक्छ, अनुसन्धान प्रभावित पार्ने काम भइरहेको पनि हुन सक्छ ।’ ज्ञवालीले अवालेलाई आफ्नो संरक्षण र संलग्नता नरहेको बताए ।
प्रहरी अधिकृतहरुको बढुवा हुने बेला पनि यस्तो समाचारहरु प्रहरी संगठनबाट र अझ सहकर्मीहरुबाट पनि चुहिने गरेको प्रहरी स्रोतको दाबी छ । यस्ता समाचारहरुले सहकर्मी तल पारेर माथि जान्छु भन्नेहरुलाई मलजल गर्ने केही आरोपित प्रहरी अधिकृतहरुको दाबी छ ।