काठमाडौं । नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवाली र नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य प्रेम आलेको एकदिन सामाजिक सञ्जालमा बहुत चर्चा भयो । ४८ घण्टा अगाडिको त्यो प्रसंग फरक थियो तर चर्चा दुवैको कम थिएन ।
शुरुमा प्रदीप ज्ञवालीको चर्चा गरौँ । सामाजिक सञ्जालमा कसैले तस्बिर सार्वजनिक गर्नुभयो । माननीय परराष्ट्रमन्त्री र पूर्व परराष्ट्रमन्त्रीका रुपमा ज्ञवालीले एउटै योजना दोहो¥याएर उद्घाटन गर्नु भएछ ।
१३ फागुन २०७७ मा परराष्ट्रमन्त्रीका रुपमा ज्ञवालीले गुल्मीको बलेटक्सारमा लिफ्ट खानेपानी आयोजना समुद्घाटन गर्नु भएको फोटो छदैँछ । यही आयोजना फेरि उहाँले उद्घाटन गर्नुभएछ पूर्व परारष्ट्रमन्त्री र गुल्मीक सांसदका रुपमा पुस २१ गते २०७८ सालमा पनि ।
त्यही पुस २१ गते पर्यटन मन्त्री प्रेम आलेको पनि चर्चा भइरहेको थियो । आलेले राजदरबारमा बन्दै गरेको रेष्टुरेन्टको काम रोक्न आदेश दिएर यस्तो ‘वाहवाह’ भइरहेको थियो, आलेको लोकप्रियता झण्डै झण्डै झलनाथ खनाल सरकारका पालाका ऊर्जामन्त्री गोकर्ण विष्टको भन्दा कम थिएन ।
त्यतिखेर के चैँ भएको थियो भने सरकार ढलेसँगै ऊर्जाजस्तो मालदार मन्त्रालयमा मन्त्री भएका गोकर्ण विष्ट हुँदाका दुई वटा काम नेपाली जनता भुल्न सक्दैनन् । एउटा, उहाँ मन्त्री रहँदा नै आफैँ पैसा नतिर्नेहरुको लाइन काट्न पोल चढ्नु भयो, अर्को जुन दिन सरकार ढल्यो, त्यो दिन ऊर्जा मन्त्रालयमा गाडी छाडेर ट्याक्सी चढेर घर फर्कनु भयो ।
हो, गुल्मीका गोकर्ण विष्ट र प्रदीप ज्ञवालीको सादगी राजनीतिसँग सबै जानकार छन्, श्रद्धा गर्छन् । तर यतिखेर एकैदिन दुई फरक पात्रको समाचार र चर्चा फरक भयो । ज्ञवालीले वर्षैपिच्छे किन एउटा आयोजना समुद्घाटन गरेर आफ्नो ‘पोलिटिकल वेट’ लुज गर्न चाहनु भयो, त्यही ‘पोलिटिकल वेट’ राख्न कहिलेकहीँ मन्त्रीले बोलेका शब्दवाणी काफी हुने र खासगरी एमालेमा रहँदा र वनमन्त्री हुँदा ‘कार्बनडाइअक्साइड’ प्रकरणले आलोचना खेप्नु परेका मन्त्री आलेले राजदरबारमा रेष्टुरेन्ट निर्माण कार्य रोकेर गोकर्ण विष्टकै झैँ ‘वाहवाह’ कमाउनु भएको छ ।
फरक यति हो कि, एमालेजनजसरी विषयबस्तु ट्विस्ट गरेर सस्तो लोकप्रियता र झुटको खेतीमा कांग्रेस र माओवादी त सकिरहेको छैन, प्रेम आले र उनको सचिवालय कसरी सकोस्, आफ्ना सरकारका मन्त्रीहरुको राम्रो कामको चर्चा गर्न मन्त्री आवद्ध पार्टी र तिनका प्रचार विभागहरु पनि नभएका र नबनेका होइनन्, त्यहाँ पनि यस्तो छलफल भइसकेको छैन कि भएर पनि प्रचारमा रुचि जागेन ? अर्थमन्त्री जनार्दन शर्माका कयौँ राम्रा कामहरुको माओवादीकै प्रेस सेन्टर छाप पत्रकारहरुले त चर्चा गर्न सकेनन् भने समाजावादीका मन्त्रीको पनि यही समस्या देखियो, अर्कातिर मन्त्रीको सचिवालय मिडियामैत्री भएर राम्रो कामको चर्चामा साथ लिनु पर्नेमा त्यो पनि अभ्यासमै पो हो कि ?
आलेलाई बदनाम गर्न अर्को हुइँया
मन्त्री प्रेम आलेको ‘एक्सन’लाई स्टन्ट मात्र मान्न सकिन्न । उहाँले राम्रै काम गर्नु भएको हो । स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेम आलेलाई बधाई दिनु भएको खबर आएका छन् । नागरिक समाज, नेपाली कांग्रेसजन पनि आलोलाई सामाजिक सञ्जालमा स्याबास, क्याबात भनिरहेका छन् । आलेले विगतमा बोलेको कुरा बिर्सिएर राम्रो काम गर्नु भएकै हो ।
तर यही घटनालाई सामाजिक सञ्जालमा विषयान्तर गरेर लेखियो, ‘राजदरबारमा रहेको रेष्टुरेन्ट बतास समूहको हो र बतास समूहका सल्लाहकार, संरक्षक प्रधानमन्त्री पत्नी डाक्टर आरजु हुन् ।’ प्रदीप ज्ञवालीले एउटै योजना दुई पटक शिलान्यास गर्दा सचेत नगराउने तिनै पंक्ति आलेको राम्रो काम छोप्न रातारात बतास र आरजु जोडेर सामाजिक सञ्जालमा छचल्कियो, बहकियो, बहुलाउन मात्र बाँकी राखेन ।
राम्रोलाई राम्रो भन्न सकिन्न किन ?
गलतलाई गलत भन्न डराउने किन ?
समाज कता लैजान खोजिदैँछ ? जबर्जस्त हूलको शासनले भन्दैमा प्रेम आलेले गरेको नराम्रो काम छोपिन्छ र ?