26.1 C
Kathmandu
Wednesday, April 24, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

‘मेरो पालो आयो ?’

सम्बन्धित खबर

–रामकुमार एलन

मिति ः २०७८ पुस २० गते
स्थानः नेकपा (एकीकृत समाजवादी) पार्टी कार्यालय हेटौँडा
समयः बिहान ११ बजे

धेरै दिन भएको थियो, पार्टी कार्यालय नगएको । ३० वर्षजति राजनीतिक चेत बोकेर हिँेडे पनि मेरा दुई वटा कमजोरी छन्, एउटा म पार्टी कार्यालय गएर भेटेजतिसँग सेल्फी हानेर, नेताहरुलाई ‘ईश्वर’ (मेरो ईश्वर पोखरेलसँग राम्रै चिनजान छ) मानेर गफिएर बस्दिनँ ।अर्को, पार्टी कार्यालय भन्दा बलशाली मानिने नेताको घरमा बिहानै ‘गिफ्ट ह्याम्पर’ बोकेर जान्नँ । धरोधर्म, मलाई अहिले पनि नेकपा .एकीकृत समाजवादी) पार्टीअध्यक्ष माधवकुमार नेपालको घर जाने लोकेसन याद छैन, मकवानपुर अध्यक्ष श्रीधर पोखरेलको घर नगएको पनि वर्षौँ भयो, कुन घर भनेर चिन्न पनि नसकुँला । खैर, मेरा निजी मामलाले तपाईंसँग कुनै ‘लेनादेना’ राख्दैन, उप्रान्त यो लाइन बिर्सिदिनु होला ।

उम्, माथिको घटनाविवरण भनेँ नि, यो घटना राष्ट्रिय सभा निर्वाचनसँग जोडिन्छ । यसपटक नेकपा (एकीकृत समाजवादी)ले बागमती प्रदेशबाट राष्ट्रिय सभामा गोमा तिमिल्सिनालाई उठाउने निर्णय गरेको छ । एमाले र समाजवादीले गुमाएका पदहरुमा समाजवादीलाई क्षतिपूर्ति कति दिने, केन्द्रीय गठबन्धनको कुरा भयो, नेपाली कांग्रेसका ईन्द्रबहादुर बानियाँजस्तो केन्द्रले पार्टी मुख्य सचिव भइसकेका कृष्णप्रसाद पौडेललाई उम्मेदवार बनाएर पठाउँदा हेटौँडातिर विष्णु लामिछानेलाई उम्मेदवार बनाउन सकिन्छ कि भनेर ‘ब्रेक फेल’ गर्नु भद्दा मजाक मात्रै हो राजनीतिमा । हेड्क्वार्टरलाई चिढाउनु कालान्तरमा आफ्नै लागि ‘बाँदर बाठो’ सावित हुन्छ ।

केन्द्र भन्दा प्रदेश न सरकार बलियो हो, न पार्टी । सिमलटारमा पौडिइने रापती खोलालाई शिभम् सिमेन्टतिर देखिने कर्रा खोलाले कहिले पनि ‘तँ भन्दा म ठूलो’ भनेको थाहा छैन । तर त्यही कर्रा त्रिवेणीधाम मास्तिर रापतीमा समाहित भएपछि सिमलटारतिर रापतीमा झ्वाम्म हाम्फाल्न मिल्ने रह बनेको हो, मास्तिरको रापती कत्रो छ, सामरी मास्तिर देखिएकै छ ।

गोमा तिमिल्सिना (जन्म मितिः २०१२÷१०÷९) लाई हेटौँडामा बस्न थालेदेखि नै चिनेको नेत्री हुनुहुन्छ । एउटा झोला बोकेर लुखुरलुखुर हिँड्ने सादगी नेताहरु केदार न्यौपाने, ललित बस्नेत, काशीनाथ अधिकारी, गोमा तिमिल्सिना, मण्डले सही सीताराम बर्तौलाजस्ता केही नेताहरु देख्दा पनि श्रद्धा र सम्मानले गाईलाई झैँ ढोगुँढोगुँ लाग्छ, देउरालीलाई सम्मान गरेर पाती चढाए झैँ केही चढाउँचढाउँ लाग्छ । कति चप्पल खिइए होलान् यसरी नै यी नेताहरुको । पार्टी बनाउन लागेका नेताहरु । अझ गोमा तिमिल्सिना त मजदुर फाँटबाट आउनु भएको नेता । ललित बस्नेतपछि गोमाकै नाम आउँछ ।

त्यसपछि मजदुर फाँटबाटै आउन भएका रघु खुलाल शक्ति र सत्ताको स्वाद चाखेर पोटिलो भइरहँदा गोमा तिमिल्सना, स्कुल हिँडेझैँ सेता सर्ट, कालो पाइन्टमा लुखुरलुखुर हिँडेर पार्टी कार्यालय जाने काशीनाथ अधिकारी अनि जीवनभर कार्यकर्ताको मष्तिष्कमा विचारसेचन गरेर कपाल फुलाएका केदार न्यौपाने, पहिला पदमपोखरीबाट र अहिले नवलपुरबाट हेटौँडा हिँडेर आउने सीताराम बर्तौलालाई पार्टी कार्यालय पुर्याइदिने एकजना वफादार ‘शालिकराम पुडासैनी’ पनि छैनन् । कहिलेकहीँ बुढी रश्मिलालाई सुनाउँछु, ‘सत्य, इमानजमानका पक्षमा लाग्दा मेरो पनि बुढ्यौली यस्तै त हुन्छ होला है !’
हो, गोमा तिमिल्सिना भेटिँदा नमस्कार गर्छु । कुनै घमण्डको राग देखिन्न । नमस्कार फर्काउनु हुन्छ, झट्ट हेर्दा चन्द्रमा टीका लगाउने, सादगी जिन्दगी बिताउने, अक्सर पार्टीका सभाहरुमा पनि मञ्चमा अतिथिको सिट पनि उस्तै परे पछिल्लो दीर्घामा प्लाष्टिकको कुर्सीमा पर्ने र बोल्ने पालो नआउनेमा पर्नुहुन्छ । कयौँ मञ्चहरुमा केदार न्यौपाने र काशीनाथले त बोल्न पाउनु हुन्न ।

बुबाको पालामा राप्रपा क्षेत्रीय सभापति हुनुहुन्थ्यो रे सीताराम बर्तौला । अहिले मेरो बुबाको नाति इञ्जिनियर हुने अभ्यासमा रहँदा बर्तौला राजेन्द्र लिङदेनको पार्टीमा क्षेत्रीय सभापतिबाट बढुवा भएको थाहा पाइएको छैन । मेरी बास्सैमा एउटा डाइलग थियो, ‘चानचुने सोच्छस्, अठार–अठार बर्ष काम गरेको गुणस्तरीय हवल्दार हुँ ।’ हो, उहाँहरुले संगठित गरेकाहरु अहिले सभासद्, मन्त्री भइरहँदा उहाँहरु सोही पदमा पनि यसपालि फुत्किन्छ कि भनेर चिन्ता गर्नु गर्ने र बल्लतल्ल बुथबाट दुई भोटले जित्ने अवस्थाका माँइकल रामचन्द्र अर्याल बनाइनु भएको छ पार्टीभित्रै ।

मामाघर गोखामा जन्मनु भएकी गोमा तिमिल्सिनाको माइतीघर चैँ तनहुँको बन्दीपुर हो । चितवन, गीतानगरमा घरजम भए पनि चितवनमा सोधिने ‘पहाडघर’ तिमिल्सिना दम्पतीको लमजुङ हो । २०३७ सालदेखि (म जन्मेका बेला) मजदुर फाँटबाट राजनीतिमा प्रवेश गर्नु भएकी तिमिल्सिना चितवनबाटै पार्टी राजनीतिमा जोडिनु भयो । हेटौँडा कपडा उद्योगको शान कत्रो थियो, नाम कत्रो थियो ।

कांग्रेस सरकारमा गएपछि भएभरका राष्ट्रिय उद्योगहरु ‘खरानी’ पार्ने अभियानमा विचरा हेटौँडा कपडा उद्योग के बचोस्, प्रताप विष्टले कान्तिपुर प्रथम पृष्ठमै देब्रेपट्टि समाचार लेखेको झल्झली सम्झन्छु, हेटौँडा कपडा उद्योग बन्द गर्ने सरकारी निर्णय । यही हेटौँडामा उद्योग कलकारखाना, सेना, प्रहरीका पृतना र प्रदेश कार्यालय अनि हेटौँडाकै कपडा उद्योग बन्द । प्रजातन्त्रमा सबभन्दा मार सरकारी उद्योगले खाँदा रहेछन्, मारवाडीलाई ४ करोडमा भृकुटी कागज कारखाना बेचेर त्यही उद्योगलाई तत्काल २२ करोड ऋण दिने प्रजातान्त्रिक सरकारहरु देखेर नै जनता बेलाबेला यो व्यवस्थासँग निरासावादी हुन्छन्, कहिले थोरबहुत राजावादी हुन्छन् ।

त्यही उद्योगमा गोमा तिमिल्सिनाले २२ वर्ष आफ्ना जवानीका उर्वर समयहरु खियाउनु भयो परिवारको गुजाराका लागि । त्यति मात्र होइन, जुन दिन उद्योग छिर्नु भयो, ललित बस्नेतहरुसँग मिलेर संगठन गर्नु भयो । एमालेको मजदुर संगठन जिफन्टमा ‘वरिष्ठ ट्रेड युनियनकर्मी’ पद पाउनु भयो, पछि पार्टी फुटेपछि विष्णु रिमालहरुको आदेशमा यो पद पनि खोसियो क्यार ! तिमिल्सिनाले २०२६ सालमा विवाह गर्नु भएको हो ।

कम्युनिष्टहरुको स्कुलिङ प्रारम्भिक कमिटी (प्राक)बाट आरम्भ हुन्छ, गोमा तिमिल्सनाले ती सबै खुड्किलाहरु पार गर्दै कम्युनिष्टको भरेङ माथि पुग्दा चोटामा उक्लन पाउनु भएन, सधैँ खङारिनेमा पर्नु भयो । २०५४ मै टेक्सटाइल गार्मेन्ट मजदुरको संगठनमा केन्द्रीय उपाध्यक्ष हुनु भएका उहाँ राष्ट्रिय परिषद सदस्य तीनपटक हुनुभयो । मध्यमाञ्चल संयोजक हुनुभएका तिमिल्सिना अनेमसंघमा आवद्ध हुनु भयो । ९९ सदस्यीय (सचिव ललित बस्नेत) मजदुर विशेष जिल्ला कमिटीमा रहनु भएकी तिमिल्सिना भूगोल बचाउने नाममा भएको दुईदिने वार्तामा पनि सरिक हुनु भयो । त्यतिखेर नेता काशीनाथ अधिकारी नै हुनुहुन्थ्यो । त्यतिखेरको घटनाक्रम सम्झँदै भन्नुहुन्छ, ‘केहीलाई त स्पष्टिकरण सोधियो, अनन्त पौडेल, वीरबहादुर लामा (दिवंगत), केशव लामिछानेहरु हुनुहुन्थ्यो स्पष्टिकरणमा पर्नेमा ।’ मजदुर फाँटबाटै आउनु भएका रघ खुलाल पछि मकवानपुर एमाले सचिवसमेत हुनुभयो । राजनीतिमा सक्रिय नभए पनि भीम महर्जनको भूमिका पनि कम थिएन पार्टी बनाउन ।

डोरमणिसँग भिडन्त

नारायणी–जनकपुर अञ्चल कमिटी, जिफन्टका क्षेत्रीय कमिटीमा रहनु भएका तिमिल्सिना एमाले राष्ट्रिय प्रतिनिधि परिषद्मा डोरमणि पौडेलसँग पराजित हुनु भयो । त्यतिखेर रामेश्वर रानाले आफूभन्दा जुनियरहरुलाई सिट सुरक्षित गराएर गोमालाई भने पराजयको स्वाद चखाउन डोरमणि पौडेलसँग उठाएर षड्यन्त्र गर्नु भयो । ‘उम्मेदवारी दर्ता गराएपछि घर पु¥याइदिन भन्दा अनन्त पौडेलले घरसम्म लगिदिनु भएन,’ तिमिल्सिना सम्झनु हुन्छ, ‘एउटै वडाको भए पनि उहाँ पनि अन्तै लागिसक्नु भएछ ।’ थोरै मतले उहाँले राष्ट्रिय प्रतिनिधि परिषद् चुनाव हार्नु भयो ।

आठौँ र नवौँमा पराजय

नेकपा एमालेको आठौँ महाधिवेशनमा गोमा तिमिल्सिना कुनै पक्षमा खुल्नु भएन, केन्द्रीय सदस्यको उम्मेदवार हुनु भयो, थोरै मतले हार्नु भयो । ‘माधव नेपाल’का मान्छे भनेर सधैँ ‘भ्याकुरखेदाइ’मा पर्नु भएका तिमिल्सिना नवौँ महाधिवेशनमा नेपाल समूहबाट उम्मेदवार हुनु भयो र पराजित नै हुनु भयो । पार्टीमा केन्द्रीय सल्लाहकार त हुनुभयो, केपी ओलीलाई पार्टी चलाउन माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमको त सल्लाह चाहिएन भने गोमा तिमिल्सना कुन चराको नाम हो भन्ने भइगयो ।

नयाँ पार्टीमा पनि पनि दुई पद

माधवकुमार नेपालले नयाँ पार्टी निर्माण गर्नु भयो नेकपा (एकीकृत समाजवादी) । शुरुमा त्यो पार्टीमा पनि गोमा तिमिल्सिनाको नाम प्रदेश कमिटी सदस्यमा समेटियो । पछि केन्द्रीय सदस्य हुनुभयो । जीवनभर सादगी जिन्दगीबाट राजनीतिमा क्रियाशील तिमिल्सिना आउँदा माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा पार्टीबाट गठबन्धनमा साझा उम्मेदवार हुनु भएको छ । कांग्रेस–माओवादी–समाजवादी गठबन्धन हो । यतिखेर एमालेजनहरु पनि ‘दिदीलाई न्याय भयो’ भनेर सामाजिक सञ्जालमा प्रतिक्रिया दिइरहेका छन् । चारदशक गुमनाम ढंगले पार्टीमा लागेर केही नपाएका पात्रलाई माधवकुमार नेपाल र उहाँको पार्टीले गरेको ‘न्याय’ अविजित हुनेछ भनेर पार्टी स्थायी कमिटी सदस्य एवम् स्वास्थ्यमन्त्री विरोध खतिवडा भन्नुहुन्छ, ‘हिजो पार्टी एउटै हुँदा त कलम चिन्हबाट खिमलाल देवकोटाले जिते भने अहिले गठबन्धनमा गोमा तिमिल्सिना हार्छिन् भन्ने एमालेहरुसँग बाजी राख्नुस् है ।’

अब माथिको घटना विवरण जोडौँ, निर्वाचन आयोग जान पार्टी कार्यालयमा बसिरहनु भएकी दिदी गोमा तिमिल्सिनालाई भनेँ, ‘दिदी एकछिन कुरा गरौँ ।’ उहाँले मुसुक्क हास्दै भन्नु भयो, ‘अब मेरो पालो आयो ?’ हो दिदी अब तपाईंको पालो आयो, बधाई तपाईंलाई ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष