spot_img
18.1 C
Kathmandu
Tuesday, December 3, 2024
spot_imgspot_imgspot_imgspot_img

एमालेको साइबर हमला र एमसिसी भन्दा देशको चिन्ता

spot_img

-

टिप्पणी
काठमाडौं । अघिल्लो वर्ष केपी ओलीको पुस ५ पछिको कदमलाई ‘प्रतिगमन’ मान्दै माधव नेपाल र प्रचण्डको आन्दोलनमा सरिक र हाल नेकपा एमालेमै समाहित घनश्याम भूसालको भाषामा ‘साइबर स्याल’ र हालै एमालेको जनसंगठन घटककै रुपमा मान्यता पाएको ‘साइबर सेल’बाट राजनीतिक युद्ध लड्न माहिर केपी ओली कुनै हालतमा गठबन्धन टुटाउन अभ्यासरत छन् ।

दिउँसो अरु सबै एकतिर, एमाले एकतिर हुँदा पनि एमालेको बहुमत आउँछ भन्ने र रातिराति विष्णु पौडेल पठाएर गठबन्धन टुटाउन देउवाले मागेजति अफर पूरा गरेर सरकार बाहिरै बस्न तयार ओलीको साइबर हमलामा को परेका छैनन् र ? रञ्जु दर्शना एमाले प्रवेशदेखि करिष्मा मानन्धरलाई एसएलसी पासमा बधाइसम्मका ‘रवि–धमला’ स्टाइलको स्क्याण्डल गरेर स्टन्ट देखाउने ओलीको रट होः गठबन्धन तोडिन्छ, बरु सरकार कांग्रेसको मात्रै होस् ।

यतिखेर गठबन्धन तोडिन्छ, शेरबहादुर देउवा एमसिसी पास गर्न आतुर भएको तर गठबन्धनको प्रमुख घटक माओवादी अनिच्छुक रहेको विषयले कतै ओली छाडेर एकीकृत समाजवादी बनाएका माधव नेपालहरु बिचल्लीमा पर्छन् कि भन्ने पिरलो एमालेजनलाई अझ बढी छ ।

भएका जतिलाई मागेजति पद दिन तयार भएर रातिराति फोनमा फकाउने ओलीकला विस्तारै विष्णु पौडेलबाट प्रमोद दाहालसम्म पुगेको छ, भएका राजेन्द्र अर्यालहरु विस्मरणमा परिरहेका बेला माधव नेपाल समूह सकाउन हदैसम्मको अमर्यादित र अभद्र एवम् अवाञ्छित कदम चाल्नेहरुको एउटै रट छ, प्रचण्ड र माधव एमसिसी पास गर्न तयार छैनन्, अब गठबन्धन टुट्छ, एमसिसी पास हुन्छ ।

यसैको पेरिफेरीमा अहिले प्रदेश मन्त्रालयदेखि पालिकासम्मका कर्मचारीले माधव नेपाल र प्रचण्ड पक्षधरको फाइलसमेत रोकेर हाकाहाकी भन्ने गरेका छन्, राजनीतिक स्थिरता छ, काम गर्न सहज छैन । कर्मचारी र साइबर हुइँया अनि सडकमा समेत रजगजका लागि शरम नमान्ने एमालेजनको एउटै विन्दु होः गठबन्धन टुटाउने, फुटेकाहरुलाई २०५४ मा फुटेको वामदेव गौतमको मालेजस्तै बनाउने ।

शेरबहादुरलाई सुविधैसुविधा

हुँदाखाँदाको दुईतिहाइको बहुमतको कम्युनिष्ट सरकार खङारेर अर्ली इलेक्सनको ध्वाँस दिँदै प्रतिगमनमा उत्रिएका केपी ओली सत्तारुढ नेपाली कांग्रेसलाई अनेक ललिपप देखाइरहेका छन् । पुष्पकमल दाहालसँग कागज गरेर त कार्यान्वयन नगर्ने ओलीले शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि कार्यक्रममा समेत सहभागिता नजाउने, माधवकुमार नेपालको अनुहार हेर्न पर्छ भनेर सर्वलीय बैठकमा नजाने लम्पट सर्वहारावादीको दलाली चरित्र देखाएकै हुन् । अरुको बुइ नचढी कांग्रेस माथि पुग्दैन भनेर पटकपटक चिढ्याएका ओलीमाथि दाहाल र नेपालको भन्दा भरोस देउवामा भए यो गठबन्धन टुट्न कुनै आइतबार चाहिन्न ।

पार्टी सभापति रामचन्द्र पौडेल भए गठबन्धन टुट्छ भनेर स्यालहुइँया लगाउने यिनै जमात पार्टी सभापतिमा शेरबहादुर देउवाको बकरार यात्राले गठबन्धन अरु लम्बियला भनेर एमालेजनमा देखिएको राजनीतिक फ्लूको तापमान बढेको देखिन्छ । यो तापमानले अहिले ओमिक्रोनलाई जित्ने गरी एमसिसी फ्लू ल्याएर गठबन्धन टुटाउन भइरहेको अभ्यासमा के साँच्चै शेरबहादुर देउवा तयार होलान् त भन्नेमा एमालेजनहरु चोकमा भन्छन्, ‘तिमीहरुले शेरबहादुर देउवालाई चिनेकै छैनौ ।’

शेरबहादुर देउवालाई अनेक सुविधा छन् । पार्टी पराजित हुँदा पनि सत्ताको बिर्यानी चाखिएकै छ । प्रतिपक्षी भन्दा चर्को विरोध गर्ने मिनेन्द्र रिजालहरुलाई पनि लाजले निथ्रुक्क पार्न उनी रक्षामन्त्री दिन तयार हुन्छन्, फेरि इमानजमानमा बेइमान गर्लान् भनेर गोपाल हमालहरुलाई २४ घण्टा नबित्दै राजीनामा गराएर चरम नैतिकवान बनेकै छन् । यस्तोबेला गगन थापा, विश्वप्रकाश शर्माहरु अविजित यात्रामा रहेर महाधिवेशन पार गरिरहँदा कांग्रेसको केन्द्रीय सदस्यको मतगणनाको नतिजा नआइसक्दै गठबन्धन टुट्छ भनेर हल्ला गर्नेहरुको डिएनए टेस्ट गर्ने हो भने ती सबैमा साइबर सेलको रेसा नभेटिनेमा शंकै छैन ।

तर साइबर हमला कति भयानक हुन्छ भने, एमालेजन नै यतिखेर एमसिसीको पक्ष विपक्षमा ‘एमाले’ जस्तै देखिएका छन् । एमालेको उखानै छ नि, कालो भए पनि हुन्छ, सेतो भए पनि हुन्छ, चिया त हो । हो, आधा पास गरौँ भन्छन्, आधा हुन्न भन्छन् । के हो, के हो, कांग्रेसको कुरा बनाएर गठबन्धन टुटाउने कुराबारे स्वयम् शेरबहादुर देउवा जानकार नहोलान्, यता जनता भने साँच्चै गठबन्धन टुट्छ भनेर चिन्ता, भय र खशी छन् ।

के यो सबै सुविधाबारे देउवा सचिवालय जानकार होला त ? कांग्रेसीजन नै भन्छन्, ‘केन्द्रीय समितिको मतगणना भइरहँदा यस्ता कुराले ठाउँ किन पायो ?’ जो जो शेरबहादुर देउवाको विकल्प हुँ भन्थे, उनीहरु नै मलाई गरिखान एकथान ‘उद्योग’ दिएर ‘रक्षा’ गरिदेऊ भनिरहँदा गठबन्धन कसरी टुट्न सक्छ ?

कहिले टुट्छ त गठबन्धन ?

अब साइबर सेनाको समाचारको शीर्षक यस्तो हुनेछ ः यसरी टुट्दैछ गठबन्धन । यसरी टुट्ने भो गठबन्धन । आदि–इत्यादि । बनिबनाउ समाचारको खेतीमा नेपाली कांग्रेस, वाम गठबन्धन निकै कमजोर छ ।

जसपाका पत्रकारहरु पनि आफ्नै सरकारका मन्त्रीको राम्रो कामको प्रचारमा जुट्न सकेका छैनन् । यस्तो बेला लगातारको साइबर हमलालाई हामी कति दिन थेग्न सक्छौँ ? त्रेता युगमा एउटा हनुमान काफी थिए लंका जलाउन । कलियुगमा इन्टरनेटको विकाससँगै साइबर हमलालाई एमालेले मूल अस्त्र बनाएको छ ।

उसले पनि बुझ्न पर्छ, एमसिसीजस्तो राष्ट्रघातमा काँग्रेसलाई साथ दिँदा अबको जनमत कस्तो होला ? अहिले त गठबन्धन तोडिएला, के यो महाकाली सन्धी भन्दा कमको राष्ट्रघात हो र ? जनता यतिखेर धेरै जागेका छन्, त्यतिखेरको शेरबहादुर र केपी ओली अनि अहिलेको केपी ओली र शेरबहादुरको राष्ट्रघातमा जुम्ल्याहा हात हो भने ठीकै छ, यो गठबन्धन नटिक्दा पनि देश र जनतालाई हितै हुनेछ । एमालेको रहर गठबन्धन टुटाउने हो । फेरि पनि देश र आमजनताको हित ठूलो हो भन्ने पंक्ति अहिले सबै पार्टीमा सुसुप्त होला तर झिनो होइन–छैन ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग