सुत्रमा समस्या आउँदा बुढानीलकण्ठ ठप्प

-

काठमाडौं,१० भदौ  – बुढानीलकण्ठ नगरपालिकामा राजस्व सङ्कलन र सेवा प्रवाहमा व्यापक समस्या देखिएको छ। आर्थिक वर्ष २०८२/८३ देखि अनिवार्य गरिएको सुत्र  राजस्व मोड्युल प्रणालीमा प्राविधिक समस्या आएपछि नगरपालिकाको दैनिक कार्य अवरुद्ध भएको हो।

महालेखा नियन्त्रक कार्यालयको निर्देशनअनुसार देशभरका स्थानीय तहहरूले राजस्व व्यवस्थापन कार्य सुत्रमार्फत गर्नुपर्ने बाध्यता रहेको छ। तर हाल प्रणाली सुस्त बनेपछि बुढानीलकण्ठमा राजस्व संकलन कार्य प्रभावित भएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ, “डाटा माइग्रेसन र अघिल्लो वर्षको हिसाब मिलाउने कार्य जारी रहँदा प्रणालीमा अत्यधिक चाप परेको छ। साथै, चालु आर्थिक वर्षको आर्थिक ऐन प्रविष्टि भइरहेकाले सुत्र प्रणाली सुस्त भएको हो।”

यस कारण कर तिर्न आएका सेवाग्राहीहरूलाई राजस्व संकलन सेवा लिन समस्या भइरहेको छ। केही आवश्यक प्रमाणपत्र, स्वीकृति तथा राजस्व सम्बन्धी कागजी प्रक्रिया समेत ढिलाइ भइरहेको सेवाग्राहीहरूले गुनासो गरेका छन्।

नगर कार्यपालिकाले प्राविधिक समस्या समाधानका लागि महालेखा नियन्त्रक कार्यालयसँग निरन्तर समन्वय भइरहेको जनाएको छ। सूचनामा भनिएको छ, “हामी पूर्ण रूपमा सचेत छौं र समस्या चाँडै समाधान गर्न प्रयासरत छौं। असुविधाप्रति क्षमायाचना गर्दै सर्वसाधारणलाई धैर्य राख्न आग्रह गर्दछौं।”

प्रणाली सामान्य अवस्थामा फर्किएपछि राजस्व संकलन र सेवा प्रवाह सहज हुने नगरपालिकाले विश्वास व्यक्त गरेको छ। साथै, डिजिटल प्रणालीले दीर्घकालीन रूपमा पारदर्शी र कार्यक्षम राजस्व व्यवस्थापन सुनिश्चित गर्ने दाबी नगरपालिकाले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य