दुर्गा अधिकारी भमरकोटेको : सुसेली बाबा !

Categories:

-

सुसेलीः बाबा !

लेखक: दुर्गा अधिकारी 'भमरकोटे'

ठेगाना: कपन, काठमाडौँ

प्रकाशन मिति: २०८२ भाद्र ७ शनिवार

लेख्छु अब ता
बाबा ! तिम्रो नाउँमा
राम्रो कविता ।

बाबा ! गजब
घर परिवारमा
रक्षा कवच ।

दियौ पहरा
रातदिन भो सधैं
तिम्रो सहारा ।

मेरो इसारा
काफी थियो तिमीमा
बाबा पियारा ।

आफैं लुटायौ
तन, मन, धनले
माथि उठायौ ।

हुँदै सुधार
बाबामा उपहार
माया अपार ।

न निदाउँथ्यौ
हाम्रो सामु सधैं नै
मुस्कुराउँथ्यौ ।

डर किञ्चित
हाम्रै भविष्यबारे
सधैं चिन्तित ।

खायौ हन्डर
छोराछोरी कुनैमा
थेन अन्तर ।

थियौ लायक
घर गाउँ, सहर
राम्रो गायक ।

खान्थेँ ठक्कर
बाबा ! थियौ गाउँको
ठूलो डाक्टर ।

मान्य पर्दथ्यौ
अन्यायमा पर्नेमा
न्याय गर्दथ्यौ ।

कत्रो सहास ?
खाली हात दुम्सीको
गर्‍यौ सिकार ।

बल जँचायौ
मुखैबाट बाघको
बाख्रा बचायौ ।

कस्तो आनन्द ?
तिम्रो काख सिरानी
पर्थेँ म दङ्ग।

दुख्दै छ घाउ
बाबा जस्तो छाहारी
कहाँ म पाऊँ ?

गुरु मानेर
गर्छु पूजा बाबाको
देव जानेर ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य