सुसेलीः बाबा !
लेखक: दुर्गा अधिकारी 'भमरकोटे'
ठेगाना: कपन, काठमाडौँ
प्रकाशन मिति: २०८२ भाद्र ७ शनिवार
लेख्छु अब ता
बाबा ! तिम्रो नाउँमा
राम्रो कविता ।
बाबा ! गजब
घर परिवारमा
रक्षा कवच ।
दियौ पहरा
रातदिन भो सधैं
तिम्रो सहारा ।
मेरो इसारा
काफी थियो तिमीमा
बाबा पियारा ।
आफैं लुटायौ
तन, मन, धनले
माथि उठायौ ।
हुँदै सुधार
बाबामा उपहार
माया अपार ।
न निदाउँथ्यौ
हाम्रो सामु सधैं नै
मुस्कुराउँथ्यौ ।
डर किञ्चित
हाम्रै भविष्यबारे
सधैं चिन्तित ।
खायौ हन्डर
छोराछोरी कुनैमा
थेन अन्तर ।
थियौ लायक
घर गाउँ, सहर
राम्रो गायक ।
खान्थेँ ठक्कर
बाबा ! थियौ गाउँको
ठूलो डाक्टर ।
मान्य पर्दथ्यौ
अन्यायमा पर्नेमा
न्याय गर्दथ्यौ ।
कत्रो सहास ?
खाली हात दुम्सीको
गर्यौ सिकार ।
बल जँचायौ
मुखैबाट बाघको
बाख्रा बचायौ ।
कस्तो आनन्द ?
तिम्रो काख सिरानी
पर्थेँ म दङ्ग।
दुख्दै छ घाउ
बाबा जस्तो छाहारी
कहाँ म पाऊँ ?
गुरु मानेर
गर्छु पूजा बाबाको
देव जानेर ।

