बागमतीमा सत्ता संकट: पराजुली भन्छिन्, ‘मेरो हस्ताक्षर दुरुपयोग भयो, अविश्वास कायम छ’

Categories:

-

हेटौँडा, साउन १३ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध नेपाली काँग्रेस संसदीय दलमा दर्ता गरिएको अविश्वास प्रस्तावलाई लिएर प्रदेशमा सत्ता सङ्कट थप गहिरिँदै गएको छ।

गत शुक्रवार मकवानपुरका सांसद इन्द्रबहादुर बानियाँको नेतृत्वमा काँग्रेस संसदीय दलका २१ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो। तर आइतबार सांसद माया श्रेष्ठ र मिना पराजुलीले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरूको नाम प्रस्तावबाट फिर्ता लिएको घोषणा गरेपछि परिस्थिति फेरिएको थियो।

सांसद मिना पराजुलीले अविश्वासको प्रस्ताव बाट नाम फिर्ता लिएको भनिएको विज्ञप्ति

विज्ञप्तिमा भनिएको थियो, “हामीलाई जानकारी नै नगराई अविश्वासको प्रस्तावमा हस्ताक्षर गराइएको हुँदा हामी त्यसमा सहमत छैनौँ र प्रस्तावबाट नाम फिर्ता लिएका छौँ।”

सांसद मिना पराजुलीले अविश्वासको प्रस्ताव बाट नाम फिर्ता लिएको भनिएको विज्ञप्ति र आज मङ्गलवार रातो सूर्यसँगको कुराकानीमा सांसद मिना पराजुलीले दिएको  पछिल्लो अभिव्यक्तिले नयाँ मोड ल्याएको छ। उनले स्पष्ट रूपमा हामीसंग  भनिन् “मेरो हस्ताक्षर दुरुपयोग गरिएको हो अविश्वास प्रस्तावमा मेरो समर्थन कायमै छ।”

उनले थप भनिन् “गगन थापा मेरो नेता हुन्। उहाँलाई अप्ठ्यारो पर्ने काम मबाट हुँदैन।  बहादुर सिंह लामाको नेतृत्वमा अब प्रदेश चल्न सक्दैन भन्ने मेरो ठम्याइ हो।”

पराजुलीको यस भनाइले उनी वास्तवमै मुख्यमन्त्री लामाको विपक्षमा रहेको पुष्टि भएको छ।

यो पनि पढ्नुहोस्

👉 ३० वर्षपछि दोहोरियो कांग्रेसमा ३६से र ७४रे काण्ड,
बागमतीका मुख्यमन्त्री फेरिँदै ।

 

यससँगै लामाविरुद्धको अविश्वास प्रस्तावमा समर्थन गर्ने सांसदको सङ्ख्या फेरि २० पुगेको देखिन्छ। कुल ३७ सदस्य रहेको बागमती प्रदेश सभामा बहुमतका लागि कम्तीमा १९ सांसदको समर्थन आवश्यक पर्छ।

यसअघिको विज्ञप्तिपछि यस्तो ठानिएको थियो कि लामाको पक्षमा १८ सांसद रहनेछन् भने विपक्षमा १९ मात्र बाँकी रहनेछन्। तर पराजुलीको स्पष्टीकरणपछि समीकरण फेरिएको छ।

विज्ञप्तिमा गरिएको निर्णयको बारेमा जानकारी लिन  सांसद माया श्रेष्ठललाइ सम्पर्क गर्दा सम्पर्क हुन् सकेन ।

मुख्यमन्त्री लामा नेपाली काँग्रेस संसदीय दलका नेता हुन्। पार्टीभित्रैबाट उठेको अविश्वास प्रस्ताव र त्यसमा देखिएको विभाजनले काँग्रेस नेतृत्वको समन्वय क्षमतामाथि पनि प्रश्न उठेको छ।

स्रोतका अनुसार अहिले मुख्यमन्त्री लामाले गठबन्धन बचाउन पहल गरिरहेका छन् भने विपक्षी पक्ष नेतृत्व परिवर्तनको रणनीति अन्तिम चरणमा पुर्‍याउने तयारीमा छन्।

अब प्रस्तावमाथि मतदान हुने स्थिति आयो भने लामालाई पद जोगाउन चुनौती थपिएको छ। गुटीय विवादले काँग्रेसको आन्तरिक एकतालाई समेत असर पार्ने सङ्केत देखिन थालेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य