मलाई पिँजरामा बन्द गरिदिनु भो
नारायणबाबु तिम्सिना
म बालक हुँ
स्वतन्त्र भएर
खेल्न मन छ मलाई
मन भरिने गरी
रम्न मन छ मलाई
अनि आँत पुरिने गरी
बन , पाखा र यस्तै
पहरा र छहराहरू
चहार्न मन छ मलाई ।
खै कुन्नि किन हो ?
मेरा बा ले
मेरी आमा ले
मैले थाहै नपाई
मलाई विद्यार्थी बनाइदिनु भो
मैले पत्तै नपाई
मलाई पिँजरामा हालिदिनु भो ।
खै कुन्नि किन हो ?
झोला भरी
मेरा बा ले
मेरी आमा ले
पुस्तकको भारी भिराइदिनु भो
कहिल्यै नचिनेका
पराइहरूको जिम्मा लगाइदिनु भो ।
मेरो खुसी
मेरा बा ले
मेरी आमा ले
आफ्नो सपनामा साटिदिनु भो
मेरा अबोध
बाल सुलभ यादहरू
कृत्रिम बादलले ढाकिदिनु भो ।
आफ्ना छोराछोरी
असल अनि राम्रा बनाउन
मेरा बा ले
मेरी आमाले
मलाई पीडा दिनु भो
सायद आफू स्वतन्त्र हुन
मलाई पिँजरामा बन्द गरी दिनु भो ।
प्रतिक्रिया दिनुहोस्

