काठमाडौँ,६ साउन । आयातको चाप थेगिनसक्नु बने पनि नेपालले केही वस्तुहरूको व्यापारमा उल्लेखनीय नाफा कमाएको छ। आर्थिक वर्ष २०८१/८२ मा कुल १५ खर्ब २७ अर्ब रुपैयाँको व्यापार घाटा रहे पनि १३ वटा वस्तु समूहमा नेपालले नाफा कमाएको भन्सार विभागको तथ्यांकले देखाएको छ।
यस वर्ष नेपालले सबैभन्दा धेरै कार्पेट तथा गलैंचाको व्यापारमा नाफा कमाएको छ। नेपालले १२ अर्ब २५ करोड रुपैयाँबराबरको निर्यात गर्दा केवल ५७ करोड ७८ लाख बराबरको आयात भएको छ। यसमार्फत देशले ११ अर्ब ६७ करोड रुपैयाँ नाफा कमाएको छ।
त्यस्तै तरकारी तथा फलफूलजन्य वस्तुहरूमा ७ अर्ब ७४ करोड निर्यात र २ अर्ब ३८ करोड आयातका आधारमा ५ अर्ब ३५ करोड रुपैयाँको व्यापार नाफा देखिएको छ। यस्तै कोइलाको व्यापारमा पनि नेपालले करिब ४ अर्ब रुपैयाँ नाफा कमाएको छ।
कफी, चिया र चियामसला समूहमा १३ अर्ब बराबरको निर्यात भएको छ भने वनस्पतिबाट निर्मित वस्तुहरूमा ४ अर्ब र फेल्ट समूहमा ५ अर्बको निर्यात भएको तथ्यांकमा उल्लेख छ।
वाद्यवादन सामग्री, सिसाजन्य वस्तुहरू, र फेल्टबाट निर्मित लत्ताकपडा क्रमशः ६८ करोड, ८५ करोड र १७ करोड रुपैयाँ नाफामा छन्। त्यसैगरी, मासु तथा मासुजन्य वस्तुहरूमा ११ करोड र पुरातात्विक तथा कलात्मक वस्तुहरूमा २६ करोड रुपैयाँको नाफा देखिएको छ।
नेपालको १३ वस्तुमा व्यापार नाफा (आ.व. २०८१/८२)

