लघुकथा: संशय
महेन्द्र नेउपाने
लोकन्थली, भक्तपुर।
“दिदी तपाईँका बुढा के भएर बितेका?”
वृद्धाश्रममा लहरै घाम तापेर बसेका वृद्धाहरु मध्ये मिठुले छेउमै बसेकी अर्कि वृद्धा चारुलाई सोधिन्।
“खै भनेको टेरेनन। सधै जाँड र चुरोट खान्थे, क्यान्सर लागेको रे भन्थे डाक्टरले।” चारुले बताईन्।
“अनि तिम्रो चै?” मिठुले फेरि अर्कि वृद्धालाई सोधिन्।
“मेरो बुढा चै हर्ट याटाक् भएर बितेका। चिल्लो, चाप्लो र तारेको खुव मीठो लाग्थ्यो, यस्तो नखाउ न बुढा भनेको टेर पुच्छर लगाएनन्। काम गर्नका अल्छे, आखिर त्यसैले लग्यो।” वृद्धाले निन्याउरो अनुहार पार्दै भनिन्।
त्यत्तिकैमा अलिक तन्नेरी जस्ती देखिने मैयाँ त्यहाँ टुप्लुक्क आईपुगिन्।
मिठुले मैयाँलाई पनि सोधिन्,
“मैयाँ, तिम्रा बुढा के भएर बितेका?”
मैयाँले खुई…य गर्दै भनिन्,
“हेर्नू न दिदी, गाडी एकदमै जोडले चलाउने, बिस्तारै चलाउन भन्यो, स्टन्ट गर्न मज्जा आउँछ भन्थे। हामीलाई सुन्ने होईनन्। एक दिन गाडी दुर्घटनामा पर्यो, दुई दिन अस्पताल बसेर बिते।”
सबैका कुरा सुनेपछि, मिठुले निष्कर्ष निकालिन्, “यी लोग्ने मान्छे स्वास्नीका कुरा नसुनेर मर्दा रहेछन।”
चारुले सहि थाप्दै भनिन्, “अहिले चै गाँठी कुरा गर्नु भयो दिदिले। मलाई टेरिदिएको भए, अहिले सम्म मेरा बुढा बाँचेकै हुन्थे।”
छेउका वृद्धाहरुले पनि हो मा हो मिलाए।
“त्यै त दिदी, त्यै भनेर छोरोलाई पहिले देखि नै त्यै कुरा सिकाएँ । तर….. ” एकाएक मैयाँ रोकिइन्।
“के तर?” मिठुले तुरुन्तै सोधिन्।
“त्यसैले आज म वृद्धाश्राम आईपुगेँ।”
मैयाँले गहभरी आँसु झार्दै भनिन्।

