राष्ट्र बैंकले नीतिगत दर घटाएपछि वाणिज्य बैंकहरूले ब्याजदर घटाए

Categories:

-

काठमाडौं,३२ साउन – नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत दर घटाएपछि वाणिज्य बैंकहरूले पनि साउन महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन्। राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीतिमा नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत, बैंकदर ६.५ प्रतिशतबाट ६ प्रतिशत र निक्षेप संकलन दर ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत बनाएको थियो।

त्यसको प्रत्यक्ष प्रभाव स्वरूप अधिकांश वाणिज्य बैंकहरूले साउन महिनाका लागि ब्याजदरमा कटौती गरेका हुन्। २० वटा वाणिज्य बैंकमध्ये व्यक्तिगत मुद्दती निक्षेपमा १६ वटाले ब्याजदर घटाएका छन् भने ४ वटा बैंकले असार महिनाकै ब्याजदरलाई यथावत् राखेका छन्। व्यक्तिगत निक्षेपतर्फ कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन्।

संस्थागत निक्षेपमा ११ बैंकले ब्याज घटाएका छन् भने हिमालयन बैंकले भने १ प्रतिशत ब्याजदर वृद्धि गरेको छ। बाँकी ८ वटा बैंकले पुरानै दरलाई निरन्तरता दिएका छन्।

साउन महिनाका लागि ब्याजदर हेर्दा एभरेस्ट बैंक र एनआईसी एसिया बैंकले सर्वाधिक ५.२५ प्रतिशत ब्याजदर तोकेको छ। त्यसपछि एनएमबी बैंक र हिमालयन बैंकले ५ प्रतिशत, सिद्धार्थ बैंकले ४.७५, लक्ष्मी सनराइज बैंकले ४.५ प्रतिशत ब्याजदर तोकेका छन्। नबिल बैंकले ४.०५, नेपाल इन्भेस्टमेन्ट मेघा बैंक र ग्लोबल आईएमई बैंकले ४.२५ प्रतिशत ब्याजदर घोषणा गरेका छन्।

त्यस्तै, स्टान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम ३ प्रतिशत ब्याजदर तोकेको छ भने कृषि विकास बैंकले ३.५, नेपाल बैंकले ३.७५ र प्राइम कमर्सियल बैंकले ३.१ प्रतिशत ब्याजदर कायम गरेका छन्।

ब्याजदर घटेसँगै बचतकर्ताले कम प्रतिफल पाउने भए पनि ऋण लिने उपभोक्ताका लागि भने यो राहतको विषय बन्ने विश्लेषकहरू बताउँछन्।

 


प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य