काठमाडौं,३१ असार— सरकार फेरि पनि ‘असारे विकास’मा रमाएको तथ्यांकले देखाएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा असार महिनाको २९ दिनमा मात्र २ खर्ब ११ अर्ब ३५ करोड ७९ लाख रुपैयाँ पूँजीगत खर्च गरिएको छ।
जेठ मसान्तसम्म पूँजीगत खर्च १ खर्ब ४३ अर्ब ३८ करोड रुपैयाँ मात्रै रहेको थियो। तर असारमा मात्रै ६७ अर्ब ९६ करोड रुपैयाँ खर्च गर्दै सरकारले वर्षको अन्त्यमा मात्रै काम थाल्ने पुरानै प्रवृत्ति दोहोर्याएको छ।
सरकारले चालु आवमा ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ पूँजीगत बजेट विनियोजन गरेको थियो। तर असार २९ सम्मको खर्चले गर्दा लक्ष्यको मात्र ५९.९८ प्रतिशत पूँजीगत बजेट खर्च भएको छ।
अर्थ मन्त्रालयका अनुसार पूँजीगत खर्च गत वर्षको यही अवधिको तुलनामा ३९ अर्बले बढेको भए पनि गुणस्तरीय खर्च भने हुन सकेको छैन।
यसबाहेक रकमान्तरको दर पनि झन् बढ्दो छ। गत आवमा २ खर्ब ५६ अर्ब रकमान्तर गरिएको थियो भने चालु आवमा चैत र वैशाखमा मात्रै साढे ६ अर्ब रकमान्तर गरिएको छ। महालेखा परीक्षकको रिपोर्टले राष्ट्रिय गौरवका आयोजनाहरूको बजेट समेत अन्यत्र सारिएको उल्लेख गर्दै सरकारको खर्च दक्षतामाथि प्रश्न उठाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास ढिलाइप्रति चिन्ता व्यक्त गरे पनि व्यवहारमा ठूला आयोजना भन्दा चुनावी लोभ भएका खुद्रे आयोजनामा रकम खर्च हुने प्रवृत्ति कायमै छ।
२९ दिनको अवधिमा सरकारको समग्र खर्च २ खर्ब २६ अर्ब नाघेको छ। यो खर्च जेठ मसान्तसम्मको कुल खर्चभन्दा उल्लेखनीय रुपमा बढी हो।
महिनावार पूँजीगत खर्च (२०८१/८२)

