ओलीको प्रचण्डलाई जवाफ : ‘मैदान बनिरहेको छ, फ्लडलाइट जडान हुँदैछ’

Categories:

-

काठमाडौं, ३० असार  । कीर्तिपुर क्रिकेट मैदानको विकासबारे संसद्मा उठेको प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फेसबुकमार्फत् दिएका छन्।

सोमबार संसद्लाई सम्बोधन गर्दै प्रचण्डले कीर्तिपुर मैदानमा फ्लडलाइट र प्यारापिट किन बनेन भन्ने प्रश्न उठाएका थिए। त्यसको जवाफमा ओलीले भनेका छन्, “पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालजीले आज प्रश्न सोध्नु भएछ– कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट? खोई प्यारापिट? मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस्। बनिरहेको छ।”

ओलीले आफू प्रधानमन्त्री हुँदा सबै काम टाइमलाइन (निर्धारित समयसीमा) भित्र गर्ने घोषणा गरेको बताउँदै प्रचण्डले कहिल्यै यस्ता प्रतिबद्धता नगरेको आरोप लगाए। “तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नु भएन र तपाईंले केही गर्नु पनि परेन र गर्नु पनि भएन,” उनले लेखेका छन्।

ओलीले प्रचण्डको नेतृत्वमा अर्थतन्त्र जर्जर अवस्थामा पुगेको दाबी गर्दै अहिले त्यो अवस्थाबाट सुधार भइरहेको पनि उल्लेख गरेका छन्। “तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्यांक हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु,” ओलीले लेखेका छन्।

प्रधानमन्त्री ओलीको यो प्रतिक्रिया सामाजिक सञ्जालमार्फत आएको हो, जसले संसद्‍मा प्रत्यक्ष जवाफ दिनुको सट्टा नयाँ ढंगले राजनीतिक प्रतिवाद गर्ने चलनलाई झल्काउँछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य