राष्ट्र बैंकद्वारा पेवेल नेपाल र सजिलो पेको अनुमति खारेज: १ खर्ब ८ अर्बको शंकास्पद कारोबार खुलासा

Categories:

-

काठमाडौं, असार ६ – नेपाल राष्ट्र बैंकले दुई भुक्तानी सेवा प्रदायक कम्पनी पेवेल नेपाल प्रा.लि.सजिलो पे पेमेन्ट सर्भिसेजको अनुमति पत्र खारेज गरेको छ। राष्ट्र बैंकका अनुसार यी कम्पनीहरूले सम्पत्ति शुद्धीकरण निवारण ऐन तथा भुक्तानी प्रणालीसम्बन्धी निर्देशनहरू उल्लंघन गरेको पुष्टि भएपछि कडा कारबाहीस्वरूप अनुमति खारेज गरिएको हो।

राष्ट्र बैंकको निर्णयसँगै अब यी कम्पनीहरूले डिजिटल वालेट सेवा सञ्चालन गर्न पाउने छैनन्। अनुसन्धानका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एक वर्षको अवधिमा यी दुई वालेटमार्फत १ खर्ब ८ अर्ब रुपैयाँ बराबरको शंकास्पद कारोबार भएको खुलासा गरेको थियो। उक्त रकममध्ये पेवेल नेपालमार्फत ८६ अर्ब रुपैयाँ र सजिलो पेमार्फत २२ अर्ब रुपैयाँ बराबरको कारोबार भएको देखिएको छ।

अनुसन्धान अनुसार, दुबै वालेट कम्पनीले १८ वटा बैंकमार्फत कारोबार गर्दै आएका थिए। शंकास्पद गतिविधिका कारण केही बैंकहरूले राष्ट्र बैंकलाई सूचना दिएकै आधारमा अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार, अवैध कारोबारीले वालेटमार्फत रकम जम्मा गरी तेस्रो पक्षलाई भुक्तानी दिने, अस्वाभाविक कारोबार गर्नेजस्ता गतिविधि भएका थिए।

६१ किलो सुन तस्करी प्रकरणमा पनि यी कम्पनीका वालेट प्रयोग गरिएको देखिएको छ। साथै, हुन्डी कारोबारमा समेत प्रयोग भएको पुष्टि भएसँगै प्रहरीले केही कर्मचारीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान समेत गरेको छ।

एक वर्षअघि सामान्य कारोबारमा सीमित यी वालेटहरूको कारोबार एकाएक अत्यधिक वृद्धि भएपछि शंका उत्पन्न भएको थियो। प्रारम्भिक तथ्यांकका आधारमा राष्ट्र बैंकले पहिले नै दुबै कम्पनीका बैंक खाता रोक्का गरेको थियो। अन्ततः गैरकानुनी गतिविधिमा संलग्न भएको प्रमाण पाएपछि अनुमति नै खारेज गरिएको हो।

राष्ट्र बैंकको यो कदमलाई डिजिटल भुक्तानी प्रणालीमा पारदर्शिता र विश्वास पुनर्स्थापना गर्ने प्रयासको रूपमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य