सुनसरीमा दुई दिनमा ४ हजार २ सय किलो गाँजा बरामद, बन्दाकोपीको ट्रक प्रयोग

Categories:

-

इटहरी, ३ असर । बन्दाकोपी र अदुवा बोकेको ट्रक प्रयोग गरी गाँजा तस्करी गर्ने गिरोहविरुद्ध कोशी प्रदेश प्रहरीले कडा निगरानी थालेको छ। पछिल्ला दुई दिनमा मात्र प्रहरीले ४ हजार २ सय ३० किलोग्राम गाँजा बरामद गर्न सफल भएको छ।

सोमबार धरान-१३ स्थित शिवधारामा भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रकबाट २ हजार १ सय ३० किलो गाँजा बरामद गरिएको थियो। ट्रकमा अदुवा र बन्दाकोपी देखिनेगरी माथि छोपिएको थियो। तलतिर ७० वटा प्लास्टिकको बोरामा गाँजा भरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

त्यसैगरी मंगलबार इटहरी-२० स्थित तरहरा जंगल नजिकै चेकजाँच गर्दा ना५ख ६११६ नम्बरको अर्को ट्रकबाट पुनः २ हजार १ सय किलो गाँजा बरामद भएको छ। उक्त ट्रकमा पनि बन्दाकोपी र आलुको बोराले गाँजा लुकाइएको थियो।

प्रहरीले ट्रक चालक धनकुटा शहिदभूमि गाउँपालिका-६ का राजेन्द्र राई, सोही गाउँपालिकाका सुनिल राई र बराहक्षेत्र नगरपालिका-९ का सुमन राईलाई नियन्त्रणमा लिएको छ। प्रहरी स्रोतका अनुसार उनीहरूले गाँजा भारततर्फ लैजाने तयारी गरेका थिए।

यता, इलाका प्रहरी कार्यालय भेडेटारले धनकुटाको साँगुरीगढी-६ बाट चेकजाँचकै क्रममा नारायणप्रसाद राईलाई ९ किलो ९ सय ग्राम गाँजासहित पक्राउ गरेको छ।

गाँजा कारोबार रोक्न प्रदेश प्रहरीले निगरानी कडा बनाएको बताइएको छ। घरेलु बालीको नाममा तस्करी बढेपछि सुरक्षाकर्मी थप सतर्क बनेका छन्।

स्थान ट्रक नम्बर गाँजा (किलोग्राम)
धरान–१३ १-०२-००२ ख ०८४८ २,१३०
इटहरी–२० ना५ख ६११६ २,१००
साँगुरीगढी–६ पैदल व्यक्ति (चेकजाँच) ९.९
कुल ४,२३०.९
प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य