11.1 C
Kathmandu

बजेट हैन, बबाल! बालेन र गुरागाईंको द्वन्द्वले काठमाडौं महानगर ठप्प हुने खतरा

कार्यपालिका बैठक छ महिनादेखि बस्न सकेन

Categories:

-

काठमाडौं, २९ जेठ ।संघीय राजधानी काठमाडौं महानगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट निर्माण प्रक्रिया अन्योलमा परेको छ। अन्य स्थानीय तहहरूले बजेट निर्माणको तयारी तीव्र पारिरहेका बेला काठमाडौं महानगरमा भने अहिलेसम्म कार्यपालिका बैठकसमेत बस्न सकेको छैन।

महानगर प्रमुख बालेन्द्र साह (बालेन) र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको विवादले बैठक रोकिएको हो। काठमाडौं भ्युटावरको नक्सा स्वीकृत प्रक्रियालाई लिएर उत्पन्न विवादपछि मेयर बालेनले गुरागाईंलाई जबरजस्ती बिदामा राखेका थिए। तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई पुनः कार्यमा फर्काइदिएको थियो। त्यसयता बालेन गुरागाईंलाई कार्यकक्षमै प्रवेश गर्न नदिने अडानमा छन्।

यसबीच, उपमेयर सुनिता डंगोलसहित कार्यपालिका सदस्यहरूले बैठक बोलाउन पटकपटक आग्रह गरिरहेका छन्। उनीहरूले मेयरलाई सात दिने अल्टिमेटमसहित पत्र बुझाए पनि बैठक बोलाइएको छैन। वडाध्यक्षहरू समेत असन्तुष्ट छन् र बजेट निर्माण प्रक्रिया प्रभावित भएको बताउँदै छन्।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार कार्यपालिका बैठक प्रत्येक महिना कम्तीमा एक पटक बस्नुपर्ने प्रावधान छ। तर, महानगरमा अन्तिम पटक ०८१ पुस ८ गते बैठक बसेको थियो। नगरसभा बैठकसमेत छ महिनादेखि नबसेको अवस्थामा बजेट समयमै नआए साउन १ गतेदेखि आर्थिक गतिविधि ठप्प हुने जोखिम छ।

महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले छिट्टै बैठक बस्ने दाबी गरे पनि परिस्थिति अझै अन्योलमै रहेको छ। सहकार्य र संवादको अभावले देशकै प्रमुख स्थानीय तह संकटमा परेको संकेत देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य