काठमाडौं, जेठ ११– बूढानिलकण्ठ नगरपालिका–१० मा रहेको सप्तदेव बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ‘आमा बुबासँग सप्तदेव’ कार्यक्रम अन्तर्गत देवदर्शन यात्रा सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रम अन्तर्गत सहकारीका जेष्ठ सदस्य आमा–बुबाहरूलाई नुवाकोटस्थित प्रसिद्ध धार्मिक स्थल दुप्चेश्वर महादेवस्थानको भ्रमण गराइएको हो।
जेष्ठ नागरिकहरूको सम्मान तथा उनीहरूप्रतिको सद्भभाव प्रकट गर्ने उद्देश्यले सहकारीले नियमित रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। देवदर्शन यात्रामा सहभागीले धार्मिक, सांस्कृतिक र सामाजिक रूपमा थप ऊर्जा प्राप्त गरेको अनुभव व्यक्त गरेका छन्।
सहकारीका अध्यक्ष बालकृष्ण भट्टराइका अनुसार, “यस किसिमका कार्यक्रमले जेष्ठ नागरिकहरूमा धार्मिक आस्था सुदृढ हुनुका साथै सहकारीप्रतिको अपनत्व र सदस्यबीचको आपसी सम्बन्ध बलियो बनाउँछ।”
कार्यक्रममा सहभागिता जनाएका सदस्यहरूले सहकारीप्रति आभार व्यक्त गर्दै यस्ता गतिविधिहरू भविष्यमा पनि निरन्तरता दिन सुझाव दिएका थिए।


