काठमाडौं, ८ जेष्ठ । आर्थिक वर्ष २०८२/८३ को बजेट तयार पार्ने कार्यमा अर्थ मन्त्रालय तीव्र रूपमा लागिपरेको छ। जनअपेक्षा, राष्ट्रिय आवश्यकता, उपलब्ध स्रोत साधन र विभिन्न क्षेत्रबाट प्राप्त सुझावलाई समेट्दै मन्त्रालयले बजेट निर्माणको अन्तिम चरणमा प्रवेश गरेको हो।
अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले मुलुकको आर्थिक अवस्था, प्राथमिकता र सुझावका आधारमा बजेट निर्माण भइरहेको जानकारी दिए। उनका अनुसार बजेटले आर्थिक सुधार, रोजगारी सिर्जना, सामाजिक सुरक्षा, पूर्वाधार विकास, र डिजिटल अर्थतन्त्र निर्माणमा जोड दिनेछ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा मन्त्रालयको टोलीले विभिन्न पक्षसँग व्यापक परामर्श गरेको छ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) जस्ता शीर्ष नेताहरूसँग अर्थमन्त्रीले व्यक्तिगत भेटवार्ता गरेर सुझाव लिएका छन्। साथै, पूर्व अर्थमन्त्री, पूर्व सचिव, अर्थविद्, उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्सलगायतका विषयगत संघसंस्थासँग पनि छलफल गरिएको छ।
यसबाहेक, मन्त्रालयले विकास साझेदार, नागरिक समाज, जनप्रतिनिधि, तथा आम नागरिकलाई समेत सुझाव दिन सार्वजनिक आह्वान गरेको थियो। प्राप्त सुझावहरुलाई समेट्दै बजेटको खाका तयार पारिएको छ।
सरकारको नीति तथा कार्यक्रम तथा बजेटका सिद्धान्त र प्राथमिकताबारे संसदमा छलफल सम्पन्न भइसकेको छ। आगामी बजेटमा रोजगारीका अवसर सिर्जना, समावेशी विकास, कृषि र पर्यटन प्रवर्द्धन, शिक्षा र स्वास्थ्य क्षेत्र सुदृढीकरण प्राथमिकतामा पर्नेछन्।
अर्थ मन्त्रालयले आर्थिक सर्वेक्षण जेठ १४ गते र बजेट वक्तव्य जेठ १५ गते संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ।


