त्रैमासको अन्त्यमा बैंकहरूबाट सर्ट टर्म लोनको बाढी, पुराना ऋण तिर्न नयाँ ऋण

Categories:

-

काठमाडौं,३१ चैत्र  । त्रैमासको अन्त्यसँगै बैंकहरूले अल्पकालीन कर्जा (सर्ट टर्म लोन) प्रवाह अत्यधिक रूपमा बढाएका छन्। खराब ऋण (एनपीए) बढ्न नदिने र आम्दानी घट्नबाट जोगिन बैंकहरू नयाँ ऋण प्रवाहमा सक्रिय बनेका हुन्। विशेषगरी  ग्लोबल आइएमई बैंक (GBIME), र नेपाल लाइफ इन्स्योरेन्स (NLIC) जस्ता संस्थाबाट यस्तो कर्जा प्रवाह उल्लेख्य देखिएको छ।

यसअघि थलिएको कर्जा विभाग अहिले भने मसान्तको चटारोमा निकै व्यस्त देखिएको छ। बैंकका ऋण विभागका कर्मचारीहरू अबेर रातिसम्म कार्यालयमा बसेर कागजी प्रक्रिया मिलाइरहेका छन्। राष्ट्र बैंकले सार्वजनिक गरेको साप्ताहिक तथ्यांकमै बैंकहरूले पुरानो ऋण तिर्नकै लागि नयाँ ऋण दिएका तथ्य देखिन्छन्।

हालको एक सातामै २० वाणिज्य बैंकहरूबाट झण्डै २० अर्ब रुपैयाँ नयाँ ऋण प्रवाह भएको छ। सामान्य समयमा यस्तो ऋण प्रवाह उत्साहजनक नदेखिए पनि मसान्तमा १ प्रतिशत अतिरिक्त प्रोभिजनिङ गर्नु नपरोस् भन्ने आशंकाले बैंकहरू ऋण दिन हतारिएका छन्।

बैंकिङ क्षेत्रका एक उच्च स्रोतका अनुसार अहिले दिइएको कर्जाको उद्देश्य व्यवसायिक विस्तार वा लगानी नभई पुरानो ब्याज तिर्ने हो। ‘सामान्य अवस्थामा त यस्तो कर्जा दिइँदैन, तर मसान्तको मूल्यांकन राम्रो देखाउनका लागि छोटो अवधिको ऋण प्रवाह भएको हो,’ एक बैंकरले अनौपचारिक कुराकानीमा भने।

राष्ट्र बैंकले यसको प्रत्यक्ष प्रतिक्रिया नजनाए पनि सुपरिवेक्षण विभागका स्रोतले स्थलगत अध्ययनको क्रममा यस्ता प्रवृत्तिमा निगरानी राखेको बताएका छन्। स्रोतका अनुसार यो बेला कुनै दीर्घकालीन परियोजनाको कर्जा माग नआएको र अल्पकालीन ऋण नै प्रमुख रुपमा देखिएको छ।

बैंकहरूले पुरानो धितोलाई पुनः मूल्यांकन गरेर कर्जा विस्तार गरिरहेका छन्। जस्तै १० करोडको मूल्यांकन भएका सम्पत्तिलाई १२ करोड पुर्याएर त्यसैका आधारमा ऋण थप्ने प्रवृत्ति देखिएको छ। यसले पुराना किस्ता तिर्न सहज बनाउने भए पनि बैंकको समग्र कर्जा गुणस्तरमा दीर्घकालीन असर पर्न सक्ने विज्ञहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य