भैरहवा, चैत २७ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान बन्द भएपछि लुम्बिनी प्रदेशको निजी क्षेत्र आक्रोशित बनेको छ। निजी क्षेत्रका चार प्रमुख उद्योग वाणिज्य संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै विमानस्थल सञ्चालनमा अवरोध गरिरहेको ‘अदृश्य शक्ति’ को पहिचान गर्न सरकारलाई चुनौती दिएका छन्।
नेपाल चेम्बर अफ कमर्स लुम्बिनी, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी, उद्योग परिसंघ लुम्बिनी र नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनीले सोमबार साँझ विज्ञप्ति जारी गर्दै यस्तो गुनासो पोखेका हुन्। विज्ञप्तिमा भनिएको छ, “लुम्बिनी प्रदेशको समृद्धिको आधार बन्ने उद्देश्यले निर्माण गरिएको गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्नु चिन्ताको विषय हो। यस्तो अवस्था आउनुमा कुन अदृश्य शक्ति लागिपरेको हो?”
निजी क्षेत्रका प्रतिनिधिहरूले विमानस्थल सञ्चालनका लागि सरकारी तर्फबाट आधारभूत संरचना र कार्यालयहरू स्थापना गर्न आवश्यक पहल नभएको बताएका छन्। वैदेशिक रोजगारीका लागि म्यानपावर, श्रम र स्वास्थ्य परीक्षण कार्यालय स्थापनाको माग पटक-पटक गर्दा पनि बेवास्ता गरिएको उनीहरूको आरोप छ।
सरकारकै आह्वानमा विमानस्थल निर्माण सुरु भएसँगै लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीहरूले ५० अर्बभन्दा बढी लगानी गरेका छन्। तर उडान अवरुद्ध हुँदा लगानी जोखिममा परेको भन्दै उनीहरूले चासो व्यक्त गरेका छन्। “नियमित यात्रु हुँदाहुँदै पनि कतिपय वायुसेवा कम्पनीले उडान कटौती गरेका छन्, तर सरकार चुप छ,” विज्ञप्तिमा भनिएको छ।
उद्योगी व्यवसायीहरूले सरकारलाई अब ढिलाइ नगरी विमानस्थल सञ्चालनमा आवश्यक सम्पूर्ण पूर्वाधार तत्काल निर्माण गर्न र निजी क्षेत्रसँग समन्वय गर्न आग्रह गरेका छन्। विज्ञप्तिमा चारै संघसंस्थाका अध्यक्षहरू — टङ्कप्रसाद पोखरेल, कृष्णप्रसाद शर्मा, एजाज आलम र गणेशप्रसाद अधिकारीको हस्ताक्षर छ।

