काठमाडौं, २७ चैत । चीनको शेन्जेन नानसान जन अदालतले अनौठो फैसला गर्दै १०० टन जीवित गोहीको अनलाइन लिलामी सुरु गरेको छ। कम्पनीको ऋण चुक्ता गर्न अलिबाबाको न्यायिक लिलामी प्लेटफर्ममार्फत लिलामी प्रक्रिया सञ्चालनमा आएको हो।
यी गोहीहरू गुआंगडोङ होङ्गी क्रोकोडाइल उद्योग कम्पनीका हुन्, जुन २००५ मा मो जुनरोङ नामक व्यापारीले स्थापना गरेका थिए। एक समय ‘क्रोकोडाइल भगवान’ भनेर चिनिएका मोको कम्पनी ठूलो आर्थिक संकटमा पर्दै ऋणमा फसेपछि सम्पत्ति जफत गरिएको थियो। जफत गरिएका सम्पत्तिमध्ये १०० टन गोही पनि रहेका छन्।
अदालतले गोही लिलामी गरेर ऋण तिर्ने निर्णय गरेसँगै मार्च १० बाट लिलामी सुरु भइसकेको छ, जुन २०२५ मे ९ सम्म चल्नेछ। प्रारम्भिक बोली ४० लाख युआन (झण्डै ५ लाख ५० हजार अमेरिकी डलर) राखिएको छ।
लिलामीका लागि चीन सरकारले कडा शर्तहरू राखेको छ। गोही किन्न इच्छुकले लाइसेन्स पाएको हुनुपर्छ। साथै, गोही समात्ने, तौल गर्ने, ढुवानी गर्ने र त्यसको सम्पूर्ण खर्च स्वयं खरिदकर्ताले बेहोर्नुपर्नेछ। सहभागी हुन ३ लाख युआनको निक्षेप अनिवार्य गरिएको छ। शर्त पूरा गर्न नसक्ने खरिदकर्ताको निक्षेप जफत गरिनेछ।
गोही चीनमा केवल जनावर नभई व्यावसायिक स्रोतको रूपमा हेरिन्छ। छालाका सामग्री, मासु, औषधिजन्य वस्तु, सौन्दर्य उत्पादन र परम्परागत रक्सी गोहीबाट उत्पादन गरिन्छ। चिनियाँ सरकारले २००३ देखि गोही पालनलाई कानुनी मान्यता दिएको हो।
एक गोहीको तौल २०० देखि ५०० किलोग्रामसम्म हुने भएकाले १०० टन गोही करिब २००–५०० गोही बराबर हुने अनुमान गरिएको छ। यो अनौठो लिलामीबारे सामाजिक सञ्जालमा बहस र व्यंग्य पनि सुरु भएको छ।


