गृहमन्त्री हुँदा यही थिति थियो – रविलाई पोखरेलको तिखो जवाफ

-

काठमाडौं, २३ चैत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कानुन सबैका लागि समान हुने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतले थुनामा राख्न आदेश दिएपछि शुक्रबार साँझ प्रहरीले उनलाई बुढानीलकण्ठस्थित निवासबाट पक्राउ गरेपछि पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका हुन्।

पोखरेलले भनेका छन्, “प्रहरीको पुर्जी काट्ने ‘रीति र थिति’ रविजी गृहमन्त्री हुँदा के थियो भन्ने कुरा रास्वपाका नेताहरूलाई थाहा नहुने कुरै भएन। तर पनि सुधारको खोजी यस्तै वेलामा हुने त हो नि।” उनले कानुन सबैका लागि बराबर हुनुपर्ने बताउँदै आफूलाई मात्र पर्दा सुधारको कुरा गर्नु दोहोरो चरित्र भएको टिप्पणी गरेका छन्।

रास्वपाका नेताहरूले लामिछानेको पक्राउलाई षड्यन्त्रका रूपमा व्याख्या गरेपछि एमाले नेता पोखरेलको टिप्पणी आएको हो। उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै राजनीतिक व्यक्तिहरूले कानुनी प्रक्रियालाई स्वीकार गर्नुपर्नेमा जोड दिएका छन्।

रास्वपा सभापति रवि लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोप लागेको छ। उच्च अदालत तानसेनले जिल्ला अदालतको धरौटीमा छाड्ने आदेशलाई उल्टाउँदै लामिछानेलाई थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको थियो। सो आदेश आएलगत्तै शुक्रबार साँझ प्रहरीले लामिछानेलाई बुढानीलकण्ठस्थित उनको घरबाट पक्राउ गरेको हो।

सहकारी पीडितहरू लामिछानेविरुद्ध लगातार आवाज उठाइरहेका छन् भने रास्वपाले यसलाई बदनियतपूर्ण हमला भन्दै विरोध जनाइरहेको छ। एमाले नेता पोखरेलको भनाइले यस घटनालाई राजनीतिक रंग दिनु अनुचित भएको संकेत गरेको छ।

उनको भनाइ अनुसार, कानुनको पालना सबैले गर्नुपर्ने र कानुनी प्रक्रियालाई सम्मान गर्नु नै लोकतन्त्रको आधार हो।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य