नेपाल राष्ट्र बैंकको चेतावनी: सार्वजनिक वाईफाई प्रयोग गरी डिजिटल कारोबार नगर्नु

Categories:

-

काठमाडौं, २७ काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक स्थानका निःशुल्क वाईफाई तथा असुरक्षित नेटवर्कमार्फत डिजिटल कारोबार नगर्न सर्वसाधारणलाई सचेत गराएको छ। बैंकले अनलाइन बैंकिङ्ग गर्दा असुरक्षित नेटवर्कको प्रयोगले व्यक्तिगत तथा बैंकिङ्ग विवरणमा ह्याकरले पहुँच राख्न सक्ने भन्दै सुरक्षित र विश्वसनीय नेटवर्क मात्र प्रयोग गर्न आग्रह गरेको छ।

केन्द्रीय बैंकले हालै एक सूचना जारी गर्दै सार्वजनिक वाईफाई प्रयोग गर्दा वित्तीय विवरण चोरी हुन सक्ने जोखिमबारे सतर्क गराएको हो। बैंकका अनुसार यस्ता नेटवर्कमा विभिन्न साइबर अपराधी तथा ह्याकरहरू सक्रिय रहन सक्छन्, जसले प्रयोगकर्ताको बैंकिङ्ग विवरण ह्याक गरी अनधिकृत कारोबार गर्न सक्छन्।

“डिजिटल बैंकिङ्ग कारोबारको लागि सार्वजनिक, निःशुल्क वा अन्य कुनै पनि असुरक्षित नेटवर्क प्रयोग गर्दा तपाईंको बैंकिङ्ग विवरणमा अनाधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम हुन्छ,” बैंकले जारी गरेको सूचनामा उल्लेख छ।

राष्ट्र बैंकले अनलाइन बैंकिङ्ग गर्दा केही सावधानी अपनाउन सुझाव दिएको छ। बैंकका अनुसार डिजिटल कारोबार गर्दा बैंकको आधिकारिक वेबसाइट वा मोबाइल एप्लिकेसन प्रयोग गर्नुपर्छ। साथै, कारोबारका लागि प्रयोग गरिने पासवर्ड, पिन कोड तथा अन्य सुरक्षा कोडहरू समयसमयमा परिवर्तन गर्नुपर्ने बैंकको सुझाव छ।

विशेषज्ञहरूका अनुसार सार्वजनिक वाईफाई नेटवर्क असुरक्षित हुने भएकाले ह्याकरहरू त्यस्ता नेटवर्कमार्फत प्रयोगकर्ताको गोप्य जानकारी चोर्न सक्ने सम्भावना उच्च हुन्छ। “सार्वजनिक वाईफाईमार्फत बैंकिङ्ग गर्दा म्यान-इन-द-मिडल (MITM) आक्रमण हुन सक्छ, जसले व्यक्तिगत विवरण चोरी हुन सक्छ,” साइबर सुरक्षा विज्ञहरू बताउँछन्।

नेपालमा डिजिटल कारोबारको प्रचलन बढेसँगै साइबर सुरक्षाको महत्त्व झन् बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरूसँग सहकार्य गर्दै साइबर सुरक्षा सुदृढ गर्न विभिन्न रणनीति अपनाइरहेको जनाएको छ।

सर्वसाधारणलाई सुरक्षित डिजिटल कारोबार गर्न प्रोत्साहित गर्न राष्ट्र बैंकले व्यापक सचेतना अभियान सञ्चालन गर्ने तयारी गरेको छ। बैंकले वित्तीय संस्थाहरुलाई आफ्ना ग्राहकलाई साइबर सुरक्षासम्बन्धी जानकारी प्रदान गर्न समेत निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य