काठमाडौं, फागुन २३ – नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्टले आफ्नो २१औं वार्षिकोत्सवका अवसरमा नेतृत्व हस्तान्तरण गर्दै सिद्धान्त ठकुरीलाई अध्यक्षमा नियुक्त गरेको छ।
सन् २००४ मा स्थापित एफवान सफ्टले नेपालमा वित्तीय प्रणालीलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्दै आएको छ। कम्पनीले अनलाइन भुक्तानी, क्यूआर भुक्तानी, डिजिटल वालेट, डिजिटल कर्जा, रेमिटेन्स सेवा लगायतका प्रविधि विकास गर्दै वित्तीय पहुँचलाई सहज बनाएको छ।
कम्पनीले १५०० भन्दा बढी युवालाई रोजगारी प्रदान गर्दै आएको छ। २१औं वार्षिकोत्सवमा अध्यक्ष रहेका विश्वास ढकालले नेतृत्व परिवर्तनको घोषणा गर्दै ठकुरीलाई नयाँ अध्यक्षको जिम्मेवारी सुम्पिएको बताए।
“२१ वर्षको यात्रामा प्रमुख बैंक तथा वित्तीय संस्थासँग साझेदारी गर्दै लाखौं नेपालीलाई डिजिटल वित्तीय सेवा उपलब्ध गराउन सफल भएका छौं। अब हामी नेपालको वित्तीय क्षेत्रलाई अझ डिजिटलाइज गरेर नवीनतम प्रविधिमा आधारित रणनीति अपनाउनेछौं,” ढकालले भने।
नवनियुक्त अध्यक्ष सिद्धान्त ठकुरी यसअघि कम्पनीका प्रमुख सञ्चालन अधिकृत (COO) का रूपमा कार्यरत थिए। अब उनले कम्पनीलाई अझ प्रविधिमैत्री र नवाचारमुखी बनाउन रणनीतिक निर्णय गर्ने जिम्मेवारी पाएका छन्।

