काठमाडौँ ,११ फागुन । आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतीक्षित खेलअघि पूर्व क्रिकेटर हरभजन सिंहले भारतको जितको सम्भावनालाई बलियो बताएका छन्। उनले विराट कोहलीबाट खेल जिताउने प्रदर्शनको आशा व्यक्त गरेका छन्।
हरभजनले भने, “सबैजना भन्छन् कि विराट कोहलीले धेरै रन बनाएका छैनन्। तर म भन्छु, विराटसँग आफूलाई प्रमाणित गर्ने यो उत्कृष्ट मौका छ। यदि उनले यस खेलमा शतक बनाए भने, अघिल्ला संघर्षहरू बिर्सनेछन्। विराटका लागि यो दिन हो, उनी रन बनाउनेछन्, र जब विराट रन बनाउँछन्, भारत सधैं जित्छ।”
हरभजनले भारतलाई यस खेलका लागि “फेभरिट” बताएका छन्, किनभने टोली राम्रो सन्तुलित रहेको छ। उनले भने, “भारतको ब्याटिङ र बलिङ दुवै उत्कृष्ट छ। पाकिस्तानको तुलनामा भारतको अनुभव राम्रो छ। पाकिस्तानले यसअघि राम्रो पिचमा खेलेको भए पनि यहाँको ढिलो पिचमा उसलाई समस्या हुन सक्छ। त्यसैले भारत नै फेभरिट हो र भारतले यो खेल जित्नेछ।”
यसैबीच, पूर्व पाकिस्तानी कप्तान शोएब मलिकले पनि भारतलाई यो खेलको प्रमुख दाबेदार भनेका छन्। तर उनले कुनै पनि खेलाडीको व्यक्तिगत क्षमताले खेलको नतिजा उल्टिन सक्ने चेतावनी पनि दिएका छन्। पाकिस्तान प्रतियोगितामा टिकिरहन संघर्ष गर्नेछ भने भारत आफ्नो अपराजित यात्रा कायम राख्ने लक्ष्यसहित मैदानमा उत्रनेछ।


