काठमाडौँ, २५ माघ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेडका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीमाथि बैंकमार्फत प्रवाह हुने कर्जामा कमिसन लिएको आरोपमा छानबिन अघि बढाएको छ।
अख्तियार स्रोतका अनुसार, अधिकारीले आफ्ना सवारी चालक उमेश महर्जनमार्फत ऋणीहरूबाट कमिसन लिने गरेका थिए। महर्जनको खातामा एकैपटक २५ देखि ३० लाख रुपैयाँसम्मको कारोबार भेटिएको छ।
अधिकारीविरुद्ध उजुरी परेपछि अख्तियारले निगरानी बढाएको थियो। प्रारम्भिक अनुसन्धानपछि अख्तियारले महर्जनसँग बयान लिएको थियो। त्यसपछि अध्यक्ष अधिकारीलाई बोलाएर तीन दिनदेखि सोधपुछ गरिरहेको छ।
नेपाल बैंकको धर्मपथस्थित केन्द्रीय कार्यालयमा रहेको अधिकारीको कार्यकक्ष अख्तियारले ‘सिल’ गरेको छ। अनुसन्धान पूरा भएपछि अख्तियारले अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने तयारी गरेको छ।
२०८० असोज १० गते तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले उनलाई नेपाल बैंकको अध्यक्ष नियुक्त गरेका थिए। अधिकारी त्रिभुवन विश्वविद्यालयका अवकाश प्राप्त सहप्राध्यापक तथा कृषि विकास बैंकका पूर्व सञ्चालक हुन्।

