काठमाडौं, मंसिर १२ – नेपाल प्रिमियर लिग (एनपीएल) का लागि चितवन राइनोजले आफ्ना समर्थकलाई चितवनदेखि काठमाडौंसम्म निःशुल्क बस सेवा उपलब्ध गराउने घोषणा गरेको छ। क्लबले बुधबार सामाजिक सञ्जालमार्फत पाँचवटा बसमार्फत यो सेवा प्रदान गरिने जानकारी दिएको हो।
चितवन राइनोजका अनुसार, काठमाडौंमा टिमको खेल हेर्न चाहने समर्थकहरूले चितवन मेडिकल कलेज (सीएमसी) बाट बस लिन सक्नेछन्। यो सेवा टिमप्रतिको समर्थन बढाउन र चितवनका खेलप्रेमीलाई खेलमैदानसम्म ल्याउन गरिएको क्लबले जनाएको छ।
चितवन राइनोजको टिम यस वर्ष बलियो रूपमा मैदान उत्रन तयार भएको छ। टोलीमा मार्की खेलाडीको रूपमा नेपाली क्रिकेटर कुशल मल्ल छन्। यस्तै, मुख्य प्रशिक्षकमा अनुभवी उमेश पटवाल छन्, जसले टोलीलाई रणनीतिक रूपमा सुदृढ बनाउने विश्वास गरिएको छ।
चितवन राइनोजले आफ्नो पहिलो खेल मंसिर १७ गते काठमाडौं गुर्खाजविरुद्ध खेल्दै एनपीएलमा सुरुआत गर्नेछ। यो खेल काठमाडौंमा हुने भएकाले चितवन राइनोजका समर्थकलाई खेलमैदानमा उपस्थित गराई टिमप्रतिको जोश र माहोल थप्न निःशुल्क बस सेवा महत्त्वपूर्ण कदम हुने अपेक्षा गरिएको छ।
यो सेवा एनपीएलको चासो बढाउन र खेलप्रतिको जनसहभागिता अभिवृद्धि गर्न सहयोगी हुने विश्वास छ। चितवन राइनोजले स्थानीय समर्थकहरूसँग नजिक रहन र खेललाई अझ रोमाञ्चक बनाउन यो अभियान सुरु गरेको हो।
एनपीएलमा चितवन राइनोजको यो पहललाई अन्य क्लबहरूले पनि अनुकरण गर्न सक्ने सम्भावना छ, जसले नेपाली क्रिकेटलाई थप ऊर्जा र उत्साह प्रदान गर्नेछ।