काठमाडौँ,३० कार्तिक । नेपालले आजदेखि बंगलादेशलाई विद्युत् निर्यात गर्न सुरु गरेको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएअनुसार नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीहरूले आज शुक्रबार १२:४५ बजे भर्चुअल रूपमा संयुक्त उद्घाटन गर्दै बंगलादेशलाई बिजुली निर्यात गर्ने घोषणा गरेका छन्।
नेपालले ४० मेगावाट विद्युत् बंगलादेशलाई पठाउन लागेको छ। यो त्रिपक्षीय सम्झौता गत असोज १७ मा नेपाल, भारत र बंगलादेशबीच भएको थियो। यसअघि भारतले सम्झौता अनुसार स्वीकृति नदिँदा बिजुली बंगलादेश पठाउन सकिएको थिएन, तर अहिले स्वीकृति प्राप्त भएपछि निर्यात सुरु भएको हो।
यस वर्षका लागि आज (कात्तिक ३०) मात्र बिजुली बंगलादेशलाई पठाइनेछ। ११ घण्टासम्म बंगलादेशलाई ४० मेगावाट बिजुली निर्यात गर्दा प्राधिकरणले ३८ लाख ३२ हजार ४ सय रुपैयाँ आम्दानी गर्ने अपेक्षा गरिएको छ।
त्रिशूली जलविद्युत् आयोजनाबाट २५ मेगावाट र चिलिमे जलविद्युत् आयोजनाबाट २२ मेगावाट विद्युत् निर्यात हुनेछ।
आज एक दिनको बिजुली बिक्री पछि अर्को वर्षको जुन १५ मा पुनः बंगलादेशलाई विद्युत् निर्यात गरिनेछ, र त्यसपछि नियमित रूपमा हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म बिजुली निर्यात गरिने योजना रहेको छ। नेपाल र बंगलादेशबीच ६ वर्षको तयारीपछि विद्युत् बिक्री सम्झौता (Power Sale Agreement) कार्यान्वयनमा आएको हो, जसले नेपाललाई प्रतिमहिना करिब ३३ करोड रुपैयाँ आम्दानी गर्ने अपेक्षा गरिएको छ।

