उद्योगहरूको विद्युत लाइन पुन: सुचारु गर्न सरकारको निर्देशन

Categories:

-

काठमाडौं,२६ कार्तिक । सरकारले विद्युत लाइन काटिएका उद्योगहरूमा २४ घण्टाभित्र लाइन पुन: जोड्न निर्देशन दिएको छ। आईतवार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस निर्णय गर्दै, सोमबार १२ बजेभित्र विद्युत सुचारु गर्न ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई निर्देशन दिएको हो।

उद्योगहरूमा विद्युत आपूर्ति बन्द हुँदा उत्पादनमा गिरावट, राजस्व संकलनमा कमी, र रोजगारीमा नकारात्मक असर पुगेको निष्कर्षसहित सरकारले उद्योगहरूलाई यथासिघ्र लाइन पुन: सुचारु गराउन लागेको हो। विद्युत कटौतीले अर्थतन्त्रमा प्रत्यक्ष असर परेको भन्दै बैठकले उद्योगहरूको सहज सञ्चालनलाई प्राथमिकता दिएको छ।

साथै, मन्त्रिपरिषद्ले १५ दिनभित्र उद्योगहरूले खपत गरेको विद्युतको बक्यौता रकम बिलअनुसार असुल गर्न निर्देशन दिएको छ। सर्वोच्च अदालतका पूर्वन्यायाधीश दिनेशचन्द्र लालको संयोजकत्वमा गठन भएको जाँचबुझ आयोगले विद्युत महशुल विवादसम्बन्धी प्रतिवेदन पेश गरेकोमा उक्त प्रतिवेदन सार्वजनिक गर्न ऊर्जा मन्त्रालयलाई स्वीकृति प्रदान गरिएको बैठकले जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य