प्रधानमन्त्री ओलीद्वारा बुढानीलकण्ठमा पाँच तारे होटल ‘लेमन ट्री प्रिमियर’को उद्घाटन

Categories:

-

काठमाडौँ,२९ भदौ ।  बुढानीलकण्ठ । बुढानीलकण्ठमा सञ्चालनमा आएको पाँच तारे होटल ‘लेमन ट्री प्रिमियर’को शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रूपमा उद्घाटन गरेका छन्। यो होटल करिब एक वर्षअघि नै सञ्चालनमा आएको भए पनि औपचारिक उद्घाटन समारोह अहिले सम्पन्न गरिएको हो। भारतको प्रतिष्ठित चेन होटलमध्ये पर्ने लेमन ट्री होटल समूहको यो ब्रान्च दुई अर्ब ५० करोड रुपैयाँको लगानीमा निर्माण भएको हो।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालमा पर्यटन विकासका लागि महत्वपूर्ण अवसरहरू रहेको बताउँदै देशमा नयाँ होटलहरू थपिनुले अर्थतन्त्रलाई टेवा पुग्ने उल्लेख गरे। उनले भने, “नेपालमा धेरै सुन्दर स्थलहरू छन्, जसले पर्यटकलाई आकर्षित गर्न सक्ने क्षमता राख्छ। सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर पर्यटन प्रवर्द्धनका लागि आवश्यक कदम चालिरहेको छ।”

लेमन ट्री प्रिमियर होटलमा एक सय दुईवटा सुविधा सम्पन्न कोठाहरू रहेको जानकारी गराइएको छ। होटलमा विभिन्न अन्तर्राष्ट्रिय स्तरका सेवाहरू प्रदान गरिने जनाइएको छ, जसमा पर्यटकहरूको सुविधाका लागि स्पा, स्विमिङ पूल, जिम, र अत्याधुनिक रेस्टुरेन्टहरू समावेश छन्। होटलले मुख्य रूपमा उच्चस्तरीय विदेशी पर्यटकलाई लक्षित गर्दै सेवा दिने उद्देश्य राखेको छ।

होटलका सञ्चालकले पनि उद्घाटन समारोहमा बोल्दै यस होटलले नेपालको पर्यटन क्षेत्रमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे। होटलका माध्यमबाट देशको पर्यटन, रोजगारी सिर्जना, र विदेशी मुद्रा आर्जनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। साथै, काठमाडौं उपत्यकामा थप लगानी आकर्षित गर्न पनि यसले मार्गप्रशस्त गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य