काँकडभिट्टा, १२ बैशाख । भारतले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आजदेखि खोलेको छ । यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक रोकेसँगै चिया निर्यात रोकिएको थियो ।
चिया बोकेका सबै ट्रक पानीट्याङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयबाट जाँचपास भएर छुटेका छन् ।
योसँगै चिया निर्यातमा देखिएको अवरोध हटेको छ । पानीट्याङ्कीस्थित भारतीय भन्सार कार्यालयका अधिकारीहरुले केन्द्रबाटै आएको निर्देशनअनुसार खुलाइएको जानकारी दिएका छन् ।
भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू भएको भन्दै चिया बोकेका नेपाली ट्रक रोकेको थियो ।
नेपालबाट सिटीसी र अर्थोडक्स चिया भारतमा निर्यात हुँदै आएको छ । नेपाली चियाको ९० प्रतिशत निर्यात भारतमै हुने गरेको छ ।
चियाको निर्यातमा अवरोध आएपछि नेपाल उद्योग वाणिज्य महासंघलगायतका संस्थाले समेत आपत्ति जनाउदै तत्काल अवरोध हटाउन नेपाल र भारत सरकारलाई आग्रह गरेका थिए ।