काठमाडौँ,२० जेठ । बूढानीलकण्ठ नगरपालिकाका प्रथम मेयर उद्धव प्रसाद खरेलले नगरपालिकाभित्रका पूर्वाधार आयोजना मर्मत सम्भारमा भ्रष्टाचार हुन सक्ने आशंका व्यक्त गरेका छन् ।
मेयर खरेलले निर्माण गरिएका र निर्माणाधीन विभिन्न भौतिक पूर्वाधारहरू विशेष गरी सडकहरूको प्रभावकारी रूपमा मर्मत सम्भार र संरक्षण गर्ने स्थानीय सरकारको योजनामाथि प्रश्न उठाएका छन । विशेष गरी आगामी वर्षाले उत्पन्न हुने चुनौतीलाई मध्यनजर गर्दै संरचनाहरूको दीर्घकालीन स्थायित्व र उपयोगिता सुनिश्चित गर्न परिभाषित रणनीति बनाउन नसकेको वर्तमान मेयर मिठाराम अधिकारिलाइ उनले एक मुक्का फेसबुक बाट प्रहार गरेको चर्चा नगरमा चल्न थालेको छ ।
खरेलले पूर्वाधार मर्मतमा बढ्दो लागत र सम्भावित भ्रष्टाचारप्रति चिन्ता व्यक्त गरेका छन । उदाहरण दिँदै उनले १० हजार रुपैयाँ मात्रै लाग्ने सानुतिनु मर्मतसमेत नगरी भविष्यमा झण्डै ५ लाख रुपैयाँसम्म पुर्याउने तयारी रहेको उनको दावी छ । यो अवस्थाले भ्रष्टाचारको आशंका बढाएको र जनतालाई उच्च सतर्कताको लागि आह्वान गरेका छन् ।
साथै, मेयर खरेलले पहिले छलफल र योजना बनाएको एम्बुलेन्स बेपत्ता भएकोमा प्रश्न उठाए। यसले नगरपालिका भित्रको मर्मतसम्भार गतिविधिको जवाफदेहिता र पारदर्शितामा थप प्रश्न खडा गरेको छ।
मेयरको भनाइले सार्वजनिक बहस सुरु गरेको छ, नागरिकहरूले स्थानीय सरकारसँग जबाफ मागिरहेका छन्। बूढानीलकण्ठ नगरपालिकाका पूर्वाधार आयोजनामा हुने मर्मत सम्भार र भ्रष्टाचारको समस्यालाई सम्बोधन गर्न तत्काल पहल गर्नुपर्ने भावना बढ्दै गएको छ ।
चिन्ता बढ्दै गएपछि स्थानीय सरकारले मेयर खरेलको सुझावलाई कस्तो प्रतिक्रिया दिने हो त्यो हेर्न बाँकी छ ।


