काठमाडौं,१६ चैत । सरकारका प्रतिनिधि र मिटरब्याज पीडितबीच आज वार्ता हुँदैछ । पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटरब्याज पीडित समूहले आज बिहान छलफल गर्ने भएका हुन् ।
गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा गठित सरकारी समिति र पीडितका बिचमा आज बिहान १० बजे गृह मन्त्रालयमा छलफल हुने बताइएको छ ।
छलफलमा सरकारी समितिका तर्फवाट ५ जना सदस्य रहने छन् भने पीडित पक्षको तर्फबाट पनि ५ जना नै गरी १० जनाको सहभागिता रहने संयोजक शर्माले जानकारी दिइन्।
सो समितिमा शर्माको नेतृत्वमा मन्त्रालयका अर्का उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी र नेपाल प्रहरीका एसपी दिनेशराज मैनाली सदस्य रहेका छन् । यता मिटरब्याज पीडित संघर्ष समितिका संयोजक मनोज पासवानको नेतृत्वमा संघर्ष दाहाल, श्याम कुमारी चौधरी, छेदिलाल पासवान र रामरिजन यादव छन् ।


