नेपालमा कृषि संकट: बजार अभाव र मूल्यको हेरफेरबाट किसान पीडित

Categories:

-

काठमाडौं, २६ माघ । कृषिप्रधान देश भनेर चिनिने नेपाल किसानले आफ्नो उत्पादनको उचित बजार पाउन नसक्दा ठूलो संकट झेलिरहेको छ । सरकारले कृषिमा आत्मनिर्भर बनाउने प्रयास गरे पनि बजारको अभाव, बिचौलियाले मूल्यमा गर्ने हेपाहापरिपाटी  र अन्य मुलुकबाट आयात हुने वस्तुले आन्तरिक उत्पादनलाई ओझेलमा पार्ने जस्ता समस्याले कृषि क्षेत्र ग्रसित छ ।

हालै चितवन र झापाको बिर्तामोडका किसानहरु दयनीय अवस्थाको विरोधमा सडकमा उत्रिएका छन् । चितवनमा किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाएको विषयमा ध्यानाकर्षण गराउन तरकारी सडकमा फालेका छन् भने बिर्तामोडमा किसानले कुखुराको फूल सडकमा फालेर आफ्नो फार्मबाट सबै कुखुरा सडकमा ल्याएका छन् । आफ्नो उत्पादन को लागि ध्यानाकर्ण गराउन ।

कालिकोटका किसान मोतीलाल शाही सरकारले कृषिमा आत्मनिर्भर हुन प्रोत्साहन गर्छ तर बजारको व्यवस्थापन गर्न वा उत्पादन हुने खाद्यान्नको उचित मूल्य सुनिश्चित गर्न पहल नगरेको बताउँछन् । बजार नहुँदा अधिकांश तरकारी तथा फलफूल बिग्रिएर खेर जाने र कृषकले उत्पादन लागतभन्दा कम मूल्यमा बिक्री गर्न बाध्य भएको उनको भनाइ छ ।

कृषि आधुनिकीकरण समितिका संयोजक लेखनाथ पौडेलले नेपालमा कृषि क्षेत्रमा लाग्ने जनशक्तिको अभाव रहेको र सरकारले यस क्षेत्रका समस्यालाई सम्बोधन नगरे अवस्था झन् विकराल हुने बताउँछन् । उनले सरकारले दिने अनुदान वास्तविक किसानसम्म नपुगेको र अहिलेको कृषि सुधार योजना अर्थहीन रहेको बताए ।

बिचौलिया र असंवेदनशील सरकारका कारण कृषि पेशाप्रति किसानको विश्वास घट्दै गएको रुकुमका कृषक थानेश्वर पहारी बताउँछन् । सरकारले विदेशबाट आयात हुने खाद्यान्न तथा कृषिजन्य वस्तुमा प्रतिबन्ध लगाएर कृषि क्षेत्रको आधुनिकीकरण लगायतका थप सुधार गर्नुपर्ने उनको भनाइ छ ।

बजारमा विदेशी वस्तुको आधिपत्य र स्वदेशी उत्पादन ओझेलमा परेको अवस्थाले कृषिप्रधान देशका युवाहरू विदेश पलायन भएका छन् । अधिकांश किसानहरू विस्थापित हुन बाध्य छन् र आफ्नो परिवारलाई समर्थन गर्न मामूली कामहरू गर्न बाध्य छन्, किनकि बेरोजगार हुनु भन्दा  कृषिमा संलग्न हुनु राम्रो  हो । तर पनि , कृषिमा युवालाई आकर्षित गराउन सकिएको छैन ।

कृषकले उत्पादनको  लागत मूल्य भन्दापनि तल झरेर  बिक्री गर्न संघर्ष गरिरहेको तरकारीको उपभोक्ताले महँगो मूल्य तिर्न बाध्य हुनु दुःखद यथार्थ हो । सरकारले भारतबाट तरकारी आयातमा कुनै प्रतिबन्ध लगाएको छैन, यसले नेपाली किसानलाई नोक्सान पु¥याएको छ ।

किसानले प्रतिलिटर ५७ रुपैयाँमा बेचेको दुध बिचौलियाले १०० रुपैयाँमा बेच्ने गरेको पहारीका अनुसार सरकारले नै बिचौलियालाई बढावा दिएको निष्कर्ष निकाल्छन्  । यति गम्भीर विषयमा  सरकार मौन रहेको छ ।

नेपाली कृषि क्षेत्रलाई सहयोग र सुधारको नितान्त आवश्यकता रहेको स्पष्ट छ । सरकारले किसानले भोग्नुपरेका समस्याहरू जस्तै बजारको अभाव, मूल्यमा उतारचढाव र आयातित वस्तुलाई सम्बोधन गर्न र अनुदानहरू वास्तविक किसानसम्म पुग्ने सुनिश्चित गर्न पहल गर्नुपर्छ। साथै, सरकारले विदेशबाट खाद्यान्न तथा कृषिजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाउने र किसानलाई राम्रो अवसर प्रदान गर्न यस क्षेत्रलाई आधुनिकीकरण गर्ने उपायहरू कार्यान्वयन गर्नेतर्फ विचार ढिला भएन र  ?।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य