चिनियाँ जासुसी बेलुन अमेरिकाको आकाशमा देखिएपछी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले आजदेखि गर्ने भनिएको चीन भ्रमण रद्द

Categories:

-

न्यूर्योक, माघ २२ /एजेन्सी । अमेरिकाको आकाशमा शंकास्पद रुपमा उडिरहेको एउटा विशाल बेलुनलाई क्षेप्यास्त्र प्रहार गरी खसालिएको छ ।

विगत केही दिनदेखि आकाशबाट अमेरिकाको मुख्य सैन्य इलाका क्षेत्रमा जासुसी गरिरहेको उक्त बेलुन चीनको भएको अमेरिकी अधिकारीको दाबी छ ।

अमेरिकी रक्षा मन्त्रालयले आफ्ना लडाकु विमानले अमेरिकी जल क्षेत्रमाथि उक्त बेलुन खसालेको पुष्टि गरेको छ ।

‘एफ-२२’ लडाकु विमानले एकल क्षेप्यास्त्र प्रहार गरी उक्त बेलुन खसालेको थियो भने सो कारवाहीका क्रममा नर्थ र साउथ क्यारोलाइनाको तटीय क्षेत्रका हवाई मार्गका साथै तीन वटा विमानस्थल बन्द गरिएको थियो । सानो विस्फोटपछि उक्त बेलुन समुद्रमा खसेको दृश्य अमेरिकी टिभी च्यानलहरुले प्रसारण गरेका छन्।

बेलुनको अवशेष साउथ क्यारोलाइना राज्यको मर्टल बिच नजिकैको जलक्षेत्रमा खसेको जनाइएको छ । बेलुनको अवशेष करिब एघार किलोमिटर क्षेत्रमा छरिएको र सेनाले ती सबै अवेशषलाई संकलन गरिरहेको जनाइएको छ ।

परमाणु क्षेप्यास्त्र भण्डारणस्थल रहेको पश्चिमी राज्य मोन्टानाको बिलिङ्ग्स नगरमाथिको आकाशमा यही बुधवार पहिलो पटक उक्त बेलुन देखिएको थियो । रक्षा मन्त्रालयका अधिकारीहरुले उक्त बेलुनको निगरानी गरिरहेको तर सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै तत्काल नखसाल्ने निर्णय लिएको जनाएका थिए । अधिकारीहरुले खुला समुद्री क्षेत्रमाथि आएपछि मात्रै सो बेलुनलाई खसाल्ने भन्दै केही दिन पर्खिएका थिए।

शंकास्पद चिनियाँ जासुसी बेलुन देखिएपछि अमेरिका र चीनबीच कुटनीतिक संकट देखा परेको छ । गैर जिम्मेवारी पूर्ण कार्यभन्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले आजदेखि गर्ने भनिएको आफ्नो चीन भ्रमण रद्द गरेका छन् । उता चिनियाँ अधिकारीहरुले भने उक्त बेलुन जासुसी नभई मौसम अनुगमन गर्ने भएको र हावाले उडाएर त्यसतर्फ लगेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य