काठमाडौँ, १३ माघ । निजी वायुसेवा कम्पनी सेवा सीता एयरले शुक्रबार परीक्षण उडान गर्ने भएपछि दाङको तुलसीपुर–१२ टरिगाउँ विमानस्थलमा निजी विमानले सेवा दिने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख सयानी चौधरीका अनुसार सीता एयरको १९ सिट क्षमताको जहाजले दिउँसो १ बजे परीक्षण उडान गर्ने भएको छ । यो तुलसीपुर क्षेत्रमा सेवा प्रदान गर्ने निजी विमानहरूको सुरुवात हो।
उपप्रमुख चौधरीले अहिले धावनमार्गको डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) को काम भइरहेको र त्यसपछि निजी कम्पनीका ठूला जहाज अटाउन अहिलेको धावनमार्ग विस्तार गर्ने योजना रहेको बताइन । विमानस्थल विस्तारका लागि तुलसीपुर उपमहानगरपालिकाले पहल गरेको र उपप्रमुख चौधरीको संयोजकत्वमा समिति गठन गरेको छ ।
हाल नेपाल वायु सेवा निगमको १९ सिट क्षमताको ट्विनअटरले साताको चार दिन आइतबार, मङ्गलबार, बिहीबार र शनिबार तुलसीपुर उडान गर्दै आएको छ । निजी विमान सञ्चालनमा आएपछि उडान संख्या बढ्ने र यात्रुको भाडा घट्ने अपेक्षा गरिएको छ । टरिगाउँमा इन्धन डिपो स्थापना गरी सञ्चालनमा ल्याइएको छ । तर, भाडा भने अहिलेसम्म घटेको छैन । हाल दाङदेखि काठमाडौंको न्यूनतम भाडा आठ हजार आठ सय १० रुपैयाँ र काठमाडौंबाट दाङको न्यूनतम नौ हजार रुपैयाँ र अधिकतम १२ हजार रुपैयाँभन्दा बढी भाडा तोकिएको छ ।
अहिलेको ७५० मिटर लामो र ३० मिटर चौडाइको धावनमार्ग विस्तार गर्न सकिएमा ठूला जहाज अट्ने र भाडा पनि सस्तो हुने उपप्रमुख चौधरीले अपेक्षा गरेकी छिन् ।
टरिगाउँ विमानस्थल, जसलाई दाङ विमानस्थल पनि भनिन्छ, नेपालको पश्चिमी क्षेत्रमा अवस्थित छ र यो दाङ र आसपासका जिल्लाहरूको लागि मुख्य विमानस्थलको रूपमा सेवा गर्दछ। यो विमानस्थल विसं. २०११ सालमा दाङ, दोघरेका समाजसेवी स्व झक्कुप्रसाद रेग्मीको पहलमा स्व. राजा त्रिभुवनको स्वीकृतिबाट स्थापना भएको थियो ।
स्थापनाका ३१ वर्षसम्म सुचारु रहेको विमानस्थल ०४२ सालमा बन्द भयो । ०६० सालमा तुलसीपुर उद्योग वाणिज्य संघको पहलमा फेरि खुल्यो र ०६६ सालमा बन्द भयो । ०६८ माघपछि तुलसीपुर उद्योग वाणिज्य संघकै पहलमा नेपाल वायुसेवा निगमसँग विभिन्न सम्झौता गर्दै फेरि सञ्चालनमा ल्याइयो । तर, त्यो नौ महिनाभन्दा धेरै टिक्न सकेन ।
यसरी पटक–पटक बन्द हुँदै र खुल्दै आफ्नो अस्थित्व जोगाउन धौ–धौ परिरहेको विमानस्थल ०७५ असोजदेखि तुलसीपुर उपमहानगरपालिकाको पहलमा फेरि सञ्चालनमा आएको भए पनि यस क्षेत्रमा हवाई यात्राको बढ्दो मागलाई सम्बोधन गर्न यसको पूर्वाधारको स्तरोन्नति हुन सकेको छैन। सीता एयरको परीक्षण उडान यो समस्या समाधान गर्ने दिशामा एक कदम हो।


