काठमाडौँ, १३ माघ । तारकेश्वर नगरपालिकामा पहिलो मेयर रनिङ शिल्ड प्रतियोगिता औपचारिक रुपमा सुरु भएको छ, प्रतियोगिता तारकेश्वर–८ डाँडागाउँस्थित खेल मैदानमा बिहीबारदेखि सुरु भएको हो ।
माघ १२ देखि १४ गतेसम्म सञ्चालन हुने उक्त खेलमा तारकेश्वर नगरपालिकाभरिका विद्यार्थीहरूको सहभागिता रहेको छ । ५ विभिन्न विधामा खेलाइने उक्त खेलमा ३४ टोलीको सहभागिछन ।
प्रतियोगितामा विभिन्न विद्यालयका २ हजारभन्दा बढी विद्यार्थीको सहभागिता रहेको कार्यक्रम संयोजक राजेन्द्र प्रसाद तिमिल्सिनाले जानकारी दिए । बिहीबार मेयर कृष्णहरि महर्जनको प्रमुख आतिथ्यतामा कार्यक्रमको भव्य उद्घाटनका साथ खेल सुरु भएको हो ।
कार्यक्रममा नगर उपप्रमुख सिर्जना बुर्लाकोटी अर्यालको विशेष उपस्थिति रहेको थियो । अतिथिमा कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत, ११ वडाका वडा अध्यक्ष एवं सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा फुटबल, भलिबल, दौडजस्ता विभिन्न खेलको सहभागिता रहेको छ । तारकेश्वर–२ का वडा अध्यक्ष तथा प्रवक्ता समेत रहेका राधाकृष्ण खड्गीले कार्यक्रमको सञ्चालन गरेका थिए भने कार्यक्रमको अध्यक्षता वडा नम्बर ८ का वडा अध्यक्ष श्यामाकृष्ण सापकोटाले गरेका थिए ।
उद्घाटन समारोहमा बोल्दै मेयर अध्यक्ष महर्जनले बालबालिकाको प्रतिभा र अदम्य साहसलाई उजागर गर्न यस्ता खेल आवश्यक रहेको बताए । खेलले आत्मनिर्भरता, र अनुशासनको विकासमा सहयोग पुग्ने भएकाले प्रतियोगिता आयोजना गरिएको मेयर महर्जनले बताए ।
आउने शनिबारसम्म संचालन हुने प्रतियोगितामा प्रथम हुने लाई रनिङ शिल्ड सहित १ लाख नगद, दोस्रो हुनेलाई ६० हजार, तेस्रो हुने लाई ४० हजार र सान्त्वना हुने लाई २० हजार नगद पुरस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गरिने जनाइएको छ ।


